बाँकी जिल्ला र प्रदेश अधिवेशन सक्न रास्वपाको परिपत्र, ‘एक सदस्य, एक तह’ को नीति लागू ||

0 Shares

१८ साउन, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाँकी रहेका सबै जिल्ला तथा प्रदेश अधिवेशनहरू यथाशीघ्र सम्पन्न गर्न मातहतका संरचनालाई परिपत्र गरेको छ। पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले निर्देशन जारी गर्दै अधिवेशन प्रक्रियालाई पूर्णता दिन आग्रह गरेका हुन्।

आयोगका अनुसार बाँकी रहेका अधिवेशनहरू प्रथम महाधिवेशन चक्रकै अङ्ग भएकाले साबिककै विधान, निर्वाचन कार्यविधि र निर्देशनहरू समान रूपमा लागू हुनेछन्। संगठन निर्माणमा एकरूपता, वैधानिकता र निष्पक्षता सुदृढ गर्न यो ताकेता गरिएको आयोगले स्पष्ट पारेको छ।

🔹 ‘एक सदस्य, एक तह’ को नीति

परिपत्रमा शक्ति सन्तुलन र फराकिलो प्रतिनिधित्व सुनिश्चित गर्न एउटै व्यक्ति धेरै तहमा रहन नपाउने व्यवस्था गरिएको छ।”प्रथम महाधिवेशन चक्रमा कुनै सदस्यले अर्को तहबाट प्रतिनिधि वा कुनै पदमा उम्मेदवारी दर्ता गरेसँगै, सोही चक्रका लागि कायम रहेको निजको साविकको प्रतिनिधिको हैसियत स्वतः समाप्त हुनेछ। यसका लागि छुट्टै राजीनामा वा स्वीकृतिको औपचारिक प्रक्रिया आवश्यक पर्ने छैन,” परिपत्रमा उल्लेख छ।

🔹 महाधिवेशन र मनोनयनको शृङ्खला

गत असार ७ देखि १२ गतेसम्म सम्पन्न प्रथम महाधिवेशनले रवि लामिछानेलाई सभापति र स्वर्णिम वाग्लेलाई उपसभापतिमा निर्विरोध चयन गरेको थियो। यस्तै, महिला उपसभापतिमा सोबिता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य तथा सह-महामन्त्रीहरूमा असिम शाह, हरि ढकाल र निशा डाँगी निर्वाचित भएका थिए।महाधिवेशनबाट ९९ जना केन्द्रीय सदस्य निर्वाचित भइसकेका छन्। विधान अनुसार सभापतिको सिफारिसमा ५१ जना केन्द्रीय सदस्य र वरिष्ठ नेतासहित बाँकी पदाधिकारी मनोनयन गर्ने व्यवस्था छ।यसैबीच, साउन १३ को केन्द्रीय समिति बैठकले प्रधानमन्त्री बालेन शाहलाई सभापतिपछिको दोस्रो वरियता रहने गरी वरिष्ठ नेतामा मनोनीत गरिसकेको छ। केन्द्रीय तहका बाँकी मनोनयन अघि बढिरहँदा तल्ला तहका बाँकी अधिवेशनहरू सम्पन्न गर्न निर्वाचन आयोगले यो कदम चालेको हो।

सम्बन्धित समाचारसबै