२२ साउन, काठमाडौं। पाकिस्तानस्थित ‘ब्रोड पिक’ हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी ज्यान गुमाएका ख्यातिप्राप्त पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को धार्मिक परम्परा अनुसार काठमाडौंको स्वयम्भूमा अन्त्येष्टि गरिएको छ।
अन्त्येष्टिअघि आयोजित अन्तिम श्रद्धाञ्जली सभामा गृहमन्त्री सुधन गुरुङले दिवंगत गुरुङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर राज्यका तर्फबाट उच्च सम्मान व्यक्त गरे। श्रद्धाञ्जली कार्यक्रममा पूर्व उपसभामुख इन्दिरा रानामगर, नेपाल पर्वतारोहण संघका पदाधिकारी, पर्यटन व्यवसायी, सह-आरोही तथा ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो।
पाकिस्तानको ब्रोड पिकमा गएको विनाशकारी हिमपहिरोमा परी गुरुङ र चर्चित आरोही निर्मल पुर्जासहित ६ नेपाली र अन्य ४ विदेशी गरी कुल १० जना पर्वतारोहीको दुखद निधन भएको थियो। सोही दुर्घटनामा ज्यान गुमाएकामध्ये गुरुङको पार्थिव शरीर विहीबार काठमाडौं ल्याइएपछि शवयात्रासहित स्वयम्भू पुर्याइएको हो।
गोरखाको लाप्राक गाउँमा जन्मिएका पुरबहादुर नेपाली पर्वतारोहण क्षेत्रका अनुभवी एवं कुशल आरोही हुन्। उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको १० पटक सफल आरोहण गर्नुका साथै ८ हजार मिटरभन्दा अग्ला हिमालहरूको २८ पटक सफलताका साथ आरोहण गरिसकेका थिए।
