नेपाली इन्जिनियरिङ र प्रविधिको इतिहासमा नयाँ फड्को मार्दै नेपालमै डिजाइन र निर्माण गरिएको बहुप्रतीक्षित विद्युतीय स्कुटर ‘यात्री पी-टु’ सार्वजनिक हुने अन्तिम तयारीमा पुगेको छ। काठमाडौँको बुढानीलकण्ठस्थित कारखानामा पुगेर माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्कुटर निर्माण प्रक्रियाको प्रत्यक्ष अवलोकन गर्नुभएको छ। कारखाना अवलोकनका क्रममा अर्थमन्त्री वाग्लेले नेपाली युवा इन्जिनियरहरूको मेहनतको उच्च प्रशंसा गर्दै स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेपालमै पहिलोपटक आफ्नै डिजाइन, इन्जिनियरिङ र सफल परीक्षणसहित निर्मित यस स्कुटरमा दुईपांग्रे विद्युतीय सवारीसाधनमै विश्वमै पहिलोपटक डीसी चार्जर (DC Charger) प्रयोग गरिएको कम्पनीको दाबी छ। नेपालका जटिल पहाडी तथा हिमाली सडकहरूमा सफल परीक्षण सम्पन्न भइसकेको यो स्कुटर भारतको प्रतिष्ठित निकायबाट गुणस्तर जाँच गराएर अबको केही दिनमै सर्वसाधारणका लागि सार्वजनिक गर्ने तयारी भइरहेको छ। सन् २०१७ मा असिम पाण्डेले सुरु गरेको ‘यात्री मोटरसाइकल’ र नेपालको अग्रणी कम्पनी ‘सिप्रदी ट्रेडिङ’को सहकार्यमा बनेको ‘सिप्रदी यात्री’ ले यो ऐतिहासिक सफलता हासिल गरेको हो।
कारखाना अवलोकनका क्रममा अर्थमन्त्री डा. वाग्लेले भन्नुभयो, “तपाईंहरूले गरेको मेहनत सह्रानीय छ। नेपालमै स्कुटर डिजाइन र निर्माण हुनु अत्यन्त सुखद कुरा हो। जसरी एप्पलको डिजाइन क्यालिफोर्नियामा र उत्पादन चीनमा हुन्छ, त्यसरी नै तपाईंहरूले पनि नेपालमै उत्पादन गरेर विश्व बजारमा फैलिने लक्ष्य राख्नुहोस्। गुणस्तरमा अब्बल बनेर अघि बढ्नुहोस्, सरकार तपाईंहरूको साथमा छ।”
