११ भदौ, काठमाडौं । नेपाल–चीन सीमावर्ती क्षेत्रबाट भोटेकोशीलगायतका नदी बेसिनमा आएको अप्रत्याशित बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र नवलपरासीलगायतका जिल्लामा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति सर्वदलीय बैठकले गहिरो दुःख व्यक्त गरेको छ। विपद्को यो कठिन घडीमा दलगत मतभेदभन्दा माथि उठेर नागरिकको जीवन रक्षा र राष्ट्रिय हितलाई प्राथमिकता दिँदै शीर्ष नेताहरूले १० बुँदे साझा संकल्प पत्र जारी गरेका छन्।
बैठकले ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ। घाइतेहरूको नि:शुल्क उपचार, हेरचाह तथा मनोसामाजिक परामर्शको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्नेमा दलहरू एकमत भएका छन्।
सर्वदलीय बैठकले बाढी-पहिरोको जोखिमबीच खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी तथा राष्ट्रसेवक कर्मचारीहरूको उच्च प्रशंसा गरेको छ।
उक्त संयुक्त वक्तव्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका ध्रुव राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका महासचिव चन्दन सिंहले हस्ताक्षर गरेका छन्।
