विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न अधिवेशनबाट नेतृत्व चयनको प्रक्रिया सकिएसँगै मोरङ कांग्रेसमा असन्तुष्टिको स्वर चर्किन थालेको छ। यही क्रममा विराटनगर महानगरपालिका–१९ का ३३ जना निर्वाचित क्षेत्रीय प्रतिनिधिले जिल्ला सभापतिसमक्ष क्षेत्रीय प्रतिनिधिबाट राजीनामा बुझाएका छन्।
विराटनगर–१९ का निवर्तमान वडा सभापति एवं क्षेत्रीय प्रतिनिधि शेषराज राजवंशीको अध्यक्षतामा बसेको बैठकले हालै सम्पन्न कांग्रेस अधिवेशनमा देखिएको भनिएको असमानता, नेतृत्व चयनमा हस्तक्षेप तथा गुटगत गतिविधिबारे गम्भीर असन्तुष्टि जनाउँदै सामूहिक राजीनामा दिने निर्णय गरेको हो।
बैठकमा सहभागी प्रतिनिधिहरूले नेतृत्वको इच्छाअनुसार व्यक्तिहरू छनोट गर्ने प्रवृत्तिले स्थानीय कार्यकर्ताको भावना र लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न उठाएको बताएका छन्। उनीहरूले अधिवेशनका क्रममा तल्लो तहका कार्यकर्ताको चाहनाभन्दा माथिल्लो तहको प्रभाव हावी भएको आरोपसमेत लगाएका छन्।
प्रतिनिधिहरूले पार्टी केन्द्रबाट जारी निर्देशनको समेत कतिपय अवस्थामा पालना नभएको र गुटगत राजनीतिको प्रभाव बढेको भन्दै असन्तुष्टि जनाएका छन्। उनीहरूको भनाइमा कांग्रेसलाई ‘लास र दासको पार्टी होइन’ भन्ने नेतृत्वको घोषित नीति र नारालाई व्यवहारमा पनि प्रतिबिम्बित गरिनुपर्ने आवश्यकता छ।
बैठकले स्थानीय कार्यकर्ताको भावना विपरीत नेतृत्व चयनमा हस्तक्षेप भएको भन्दै त्यसले अधिवेशनबाट पार्टीभित्र नयाँ रूपान्तरण भएको अनुभूति गर्न नसकिएको निष्कर्ष निकालेको जनाएको छ।
विराटनगर–१९ का क्षेत्रीय प्रतिनिधिहरूले नेतृत्व चयनमा पारदर्शिता, विधि र कार्यकर्ताको निर्णयलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। उनीहरूले पार्टीलाई पुरानै शैलीको गुटगत अभ्यासबाट मुक्त गर्दै स्थानीय तहदेखि माथिल्लो तहसम्म नेतृत्व परिवर्तन र संगठनात्मक सुधार आवश्यक रहेको बताएका छन्।
त्यसैको निष्कर्षस्वरूप वडाबाट निर्वाचित ३३ जना क्षेत्रीय प्रतिनिधिले सामूहिक रूपमा क्षेत्रीय प्रतिनिधिबाट राजीनामा दिने निर्णय गरेको बैठकपछि जारी विवरणमा उल्लेख छ।
मोरङ कांग्रेसमा पछिल्लो समय अधिवेशनको प्रक्रिया, नेतृत्व चयन र आन्तरिक विवादलाई लिएर विभिन्न तहमा असन्तुष्टि सार्वजनिक हुँदै आएको छ। केही नेताहरूले पार्टीभित्रको विवाद समाधानका लागि ‘एकताको महाधिवेशन’को मागसमेत सार्वजनिक गरेका छन्।
यसैबीच मोरङका विभिन्न निर्वाचन क्षेत्रमा क्षेत्रीय नेतृत्व चयनका क्रममा पनि प्रतिस्पर्धा र विवाद देखिएको सार्वजनिक विवरणहरूमा उल्लेख छ।
विराटनगर–१९ का ३३ क्षेत्रीय प्रतिनिधिको सामूहिक राजीनामालाई स्थानीय तहबाट नेतृत्वप्रति देखिएको गम्भीर असन्तुष्टिको संकेतका रूपमा हेरिएको छ। अब जिल्ला नेतृत्वले उनीहरूको राजीनामा स्वीकार गर्छ वा संवादमार्फत असन्तुष्टि सम्बोधन गर्ने प्रयास गर्छ भन्ने विषयले मोरङ कांग्रेसभित्रको आगामी राजनीतिक समीकरणमा चासो बढाएको छ।
