विराटनगर । नेपाली कांग्रेसको आगामी जिल्ला अधिवेशन नजिकिँदै जाँदा मोरङमा चुनावी सरगर्मी बढेको छ। नेतृत्व हत्याउनका लागि आकांक्षी नेताहरूले आन्तरिक भेटघाट र लबिङ तीव्र पारेका छन् भने तल्लो तहका कार्यकर्ताहरूमा भने अन्योल छाएको छ।
अहिलेसम्म पार्टीका शीर्ष तहका कुनै पनि नेताहरूले आफ्नो स्पष्ट कित्ता वा उम्मेदवार घोषणा गरिसकेका छैनन्। केन्द्र वा जिल्लाका ठूला नेताहरूले मुख नखोले पनि सम्भावित दाबेदारहरूले भने कार्यकर्ता भेटघाट, चियापान र आन्तरिक शक्ति सञ्चयको कामलाई तीव्रता दिएका छन्।
एउटै क्षेत्रबाट तिन दाबेदार
विशेषगरी एउटै निर्वाचन क्षेत्रबाट प्रभावशाली नेताहरूले दाबी प्रस्तुत गर्दै अग्रसरता लिएपछि स्थानीय कार्यकर्ताहरू भने दोधारमा परेका छन्। शीर्ष नेताहरूले कसलाई साथ दिने भन्ने स्पष्ट पार्न बाँकी रहेकै बेला क्षेत्रगत रूपमा देखिएको उम्मेदवारहरूको यो प्रतिस्पर्धाले मोरङ कांग्रेसको राजनीति पेचिलो बन्दै गएको छ।
मोरङ क्षेत्र नम्बर २ बाट नेतृत्वका लागि तीन जना बलिया नेताहरूले दाबेदारी प्रस्तुत गर्दै भेटघाट गरिरहेका छन्। वर्तमान जिल्ला सचिव मोदराज घिमिरे, प्रभावशाली नेता यदु विष्ट र पूर्वक्षेत्रीय सभापति सुमन कुँवरले आन्तरिक भेटघाटलाई तीव्र पारेका छन्। शीर्ष नेताहरूको मौनता र एउटै क्षेत्रबाट तीन जना आकांक्षीले दौडधूप बढाएपछि यहाँका कार्यकर्ताहरू कसको पक्षमा लाग्ने भन्ने निर्णय गर्न सकिरहेका छैनन्।
त्यसैगरी मोरङ क्षेत्र नम्बर ३ बाट पूर्वप्रदेश सांसद सुयर्माराज राई र वर्तमान जिल्ला सचिव ललित श्रेष्ठले मैदानमा आफ्नो बलियो उपस्थिति देखाउन थालेका छन्। दुवै नेताहरू निरन्तर कार्यकर्ता भेटघाट र परामर्शमा व्यस्त छन्।
मोरङ क्षेत्र नम्बर ४ बाट यो पूर्वराज्यमन्त्री दिलीप गच्छदारले आफ्नो दाबीलाई जोडतोडले अगाडि बढाउँदै भेटघाट अभियानलाई तीव्र पारेका छन् र चुनावी मैदानमा अग्रसरता लिइरहेका छन्।
जिल्ला अधिवेशनका लागि अहिलेसम्म कुनै पनि गुट वा शीर्ष नेताहरूले आधिकारिक रूपमा आफ्नो उम्मेदवार चयन गरेका छैनन्। तर, भित्री रूपमा भने आकांक्षीहरूले शक्ति केन्द्र धाउने र प्रभावशाली मतदाता तथा क्षेत्रीय प्रतिनिधिहरूसँगको भेटघाटलाई बाक्लो बनाएका छन्।
शीर्ष नेतृत्वको मौनता र आकांक्षीहरूको यो तीव्र दौडधूपले मोरङ कांग्रेसको आगामी अधिवेशन निकै प्रतिस्पर्धात्मक र रोचक हुने सङ्केत देखाएको छ। अधिवेशन नजिकिँदै जाँदा शीर्ष तहबाट आउने निर्णय र समीकरणले मात्रै चुनावी तस्बिर थप स्पष्ट पार्ने देखिन्छ।