विराटनगरमा शनिबार आयोजना हुने ऐतिहासिक राधाकृष्ण रथयात्रामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन्। विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला विशिष्ट अतिथि रहनेछन्।
राधाकृष्ण मन्दिर समितिले यसपटक प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई समेत प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरेको थियो। तर रसुवामा आएको विनाशकारी बाढी तथा विपद्का कारण भएको ठूलो जनधनको क्षतिपछि प्रधानमन्त्री शाहको रथयात्रामा सहभागिता अनिश्चित बनेको समितिले जनाएको छ।
मन्दिर कार्यसमितिका अध्यक्ष कैलाश रेग्मीका अनुसार विपद्का कारण यसपटक रथयात्रालाई विगतमा जस्तो भव्य र मनोरञ्जनात्मक नभई शोक र सहयोगको भावनासहित आयोजना गरिँदैछ।
रथयात्रामा यसपटक डीजे पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ। धार्मिक तथा सांस्कृतिक पक्षलाई प्राथमिकता दिँदै भजन–कीर्तनलाई मात्र प्राथमिकता दिइने समितिले जनाएको छ।
त्यस्तै, रसुवा बाढीपीडितका लागि सहयोग संकलन गर्न रथयात्रामा तीन वटा गाडी राखिने भएका छन्। ती गाडीमार्फत संकलन हुने रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेछ।
रथयात्रा सुरु हुनुअघि मुख्यमन्त्री कार्की र महानगर प्रमुख कोइरालाले राधाकृष्ण मन्दिरमा पूजा–आराधना गर्नेछन्।