रंगेली । मोरङको रंगेली नगरपालिका–७ स्थित श्री सन्सारीमाई मन्दिरले दैनिक रूपमा संकलन हुने भेटी तथा अन्य आम्दानीको विवरण सार्वजनिक गर्न थालेको छ।
मन्दिर व्यवस्थापन समितिले आर्थिक कारोबारलाई पारदर्शी बनाउने उद्देश्यले अघिल्लो दिन संकलन भएको भेटी तथा आम्दानीको विवरण भोलिपल्ट मन्दिरको आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गर्ने व्यवस्था सुरु गरेको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार साहसहित पाँच पदाधिकारीको नेतृत्वमा रहेको व्यवस्थापन समितिले भक्तजन तथा सर्वसाधारणको विश्वास बढाउन यो अभ्यास थालिएको जनाएको छ।
मन्दिरले सार्वजनिक गरेको विवरणअनुसार सोमबार भेटीबाट १२ हजार ९१० रुपैयाँ, सहयोगबाट ८ हजार ५२१ रुपैयाँ, बजारबाट १२ हजार ७५० रुपैयाँ तथा ४२ वटा बोकाको बलिबाट १० हजार ५०० रुपैयाँ आम्दानी भएको छ। यसरी उक्त दिन मन्दिरको कुल आम्दानी ४४ हजार ६८१ रुपैयाँ रहेको छ।
मन्दिर व्यवस्थापनले अबदेखि नियमित रूपमा आय तथा आम्दानीको विवरण सार्वजनिक गर्ने जनाएको छ। यस कदमले मन्दिरको आर्थिक कारोबार थप पारदर्शी हुने र व्यवस्थापनप्रति भक्तजनको विश्वास समेत बढ्ने अपेक्षा गरिएको छ।