बिराटनगर – पहिलो पटक विश्वासको मत लिँदा अभूतपूर्व २ सांसदबाहेक सबैको समर्थन पाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार पदमुक्त भए ।
विश्वासको मत लिने उनको प्रस्तावको पक्षमा प्रतिनिधिसभामा ६३ मत खस्यो, जुन बहुमत (१३८) भन्दा निकै कम हो । उनलाई माओवादी केन्द्र बाहेक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र एकीकृत समाजवादीका सांसदले मत दिए ।
प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । राष्ट्रपतिले संविधानको धारा ७६(२) अनुसार सरकार गठनको आह्वान गरिसके भने कांग्रेस र एमालेबीच १७ असारको सहमति अनुसार केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने दाबी पेश गरिसकेका छन् ।
कांग्रेस र एमालेले अब बन्ने सरकारमा ककसलाई समेट्छन् प्रष्ट निर्णय लिइसकेका छैनन् । तर जसपा, जसपा नेपाल, जनमत, लोसपा, नाउपा सहितका साना दलले समर्थन गर्ने बताएका छन् । राप्रपाले केही बताएको छैन
माओवादी र रास्वपाले भने प्रतिपक्षमा बस्ने प्रष्ट छ । शुक्रबार माओवादी अध्यक्ष प्रचण्ड र रास्वपा सभापति लामिछानेले सरकारमा जसरी सहकार्य गरिएको थियो, प्रतिपक्षमा बस्दा पनि सहकार्य हुने छनक दिएका छन् ।