राणालाई भेट्न मानव अधिकार आयोगको टोली टेकुमा,पक्राउको कारण अझै अस्पष्ट ||

0 Shares

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणालाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोली काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पुगेको छ।

महाराजगञ्जस्थित आफ्नै निवासबाट आइतबार बिहान करिब ३ बजे पक्राउ परेका राणालाई प्रहरीले अहिले टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखेको छ।

राणाको अवस्था, सुरक्षा तथा मानव अधिकारको अवस्थाबारे जानकारी लिन आयोगका सदस्यसहितको टोली टेकु पुगेको हो। आयोगका प्रवक्ता टीकाराम पोखरेलले राणाको अवस्थाबारे बुझ्न आयोगको टोली कार्यालय पुगेको जानकारी दिएका छन्।

राणालाई पक्राउ गरिएको विषयमा प्रहरीले हालसम्म विस्तृत विवरण सार्वजनिक गरेको छैन। प्रारम्भिक रूपमा प्रहरी स्रोतले उनलाई सुरक्षा थ्रेट रहेको भन्दै नियन्त्रणमा लिइएको बताएको छ। केही सार्वजनिक विवरणमा भने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको उल्लेख छ। तर उजुरी वा आरोपको विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन।

राणालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाटै नियन्त्रणमा लिएको हो। पक्राउको कानुनी आधार, उनीविरुद्धको उजुरी तथा अनुसन्धानको विषयमा प्रहरीले औपचारिक रूपमा विस्तृत जानकारी सार्वजनिक गर्न बाँकी छ।

चोलेन्द्र शम्शेर राणाले २०७५ पुस १८ गते नेपालको प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका थिए। उनको कार्यकालमा न्यायिक नियुक्ति, मुद्दाको पेसी व्यवस्थापन तथा कार्यपालिकासँगको सम्बन्धलगायत विषयमा विवाद र आलोचना भएको थियो।

२०७८ फागुनमा उनीविरुद्ध प्रतिनिधिसभामा महाअभियोग प्रस्ताव दर्ता भएको थियो। महाअभियोग प्रस्ताव दर्तापछि उनी प्रधानन्यायाधीशको जिम्मेवारीबाट निलम्बित भएका थिए। संसदीय महाअभियोग सिफारिस समितिले उनीमाथि लगाइएका आरोपबारे छानबिन गर्दै बयान तथा प्रमाण संकलन गरेको थियो।

तर प्रतिनिधिसभाबाट महाअभियोग प्रस्तावमाथि अन्तिम निर्णय हुन नसक्दै उनको प्रधानन्यायाधीशको कार्यकाल समाप्त भएको थियो।

अहिले पुनः पक्राउ परेपछि राणामाथिको कारबाहीको कानुनी आधार, पक्राउको कारण र अनुसन्धानको विषयलाई लिएर चासो बढेको छ। यही विषयमा उनको अवस्था र मानव अधिकारको अवस्थाबारे जानकारी लिन राष्ट्रिय मानव अधिकार आयोगको टोली टेकु पुगेको हो।

सम्बन्धित समाचारसबै