विराटनगर । नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ कोशी प्रदेश समिति तथा विराटनगर इकाइ समितिको संयुक्त आयोजनामा विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा बिहीबार शुभकामना आदानप्रदान तथा विशेष सामाजिक कार्यक्रम सम्पन्न भएको छ। विराटनगर वितरण केन्द्रको परिसरमा आयोजित उक्त कार्यक्रममा प्राधिकरणका कर्मचारी, युनियन प्रतिनिधि तथा अधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघका वरिष्ठ उपाध्यक्ष फिरोज आलमको प्रमुख आतिथ्यमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा कोशी प्रदेश अध्यक्ष दीपक नेपाल, विराटनगर इकाइ अध्यक्ष सचिन यादवसहित प्रदेश र इकाइ कमिटीका पदाधिकारी तथा कर्मचारी परिवारको बाक्लो उपस्थिति थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि फिरोज आलमले चाडपर्वले कर्मचारीहरूबीच आपसी भ्रातृत्व, एकता र संस्थागत सद्भाव बढाउन मद्दत पुर्याउने बताउनुभयो। उहाँले विद्युत् प्राधिकरण जस्तो संवेदनशील र अत्यावश्यक सेवामा कार्यरत कर्मचारीहरूले अहोरात्र खटेर जनताको सेवा गरिरहेको उल्लेख गर्दै पर्वको अवसरमा आपसमा खुसी साटासाट गर्नु सकारात्मक परम्परा भएको धारणा व्यक्त गर्नुभयो।
यस वर्षको शुभकामना आदानप्रदान कार्यक्रमलाई औपचारिकतामा मात्र सीमित नराखी पृथक र सामाजिक उत्तरदायित्वपूर्ण तरिकाले मनाइएको छ। कार्यक्रमको समापनपश्चात् संघका पदाधिकारी तथा कर्मचारीहरू विराटनगर–३ स्थित मानव सेवा आश्रम पुगेका थिए।
आश्रममा आश्रित अनाथ, असहाय तथा ज्येष्ठ बुबाहरूलाई कर्मचारी संघको तर्फबाट बेलुकाको विशेष भोजन गराइयो। परम्परागत रूपमा शुभकामना साटासाट गर्ने परिपाटीलाई बदलेर आश्रमका असहायहरूसँग खुसी साट्दै भोजन गराउन पाउँदा सम्पूर्ण कर्मचारी परिवारले गहिरो आत्मसन्तुष्टि र कृतज्ञता महसुस गरेको इकाइ अध्यक्ष सचिन यादवले जानकारी दिनुभयो।
