नेपाली कांग्रेस मोरङका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख वीरेन्द्रकुमार साहले मोरङ क्षेत्र नम्बर २ का जनप्रतिनिधिहरुमा देखिएको विवादलाई लिएर कडा आलोचना गरेका छन्। साहले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिनिधिसभा सदस्य ऋषिकेष पोखरेल र प्रदेशसभा सदस्य लिलावल्लव अधिकारीमाथि कानुनी कारबाहीको माग गरेका छन्। उनका अनुसार यी जनप्रतिनिधिहरुले जनताको विश्वासमा ठेस पुर्याएका छन्, जसले सिंगो क्षेत्रको प्रतिष्ठामा धक्का पुर्याएको छ।
प्रतिनिधिसभा सदस्य ऋषिकेष पोखरेल सहकारी घोटालामा मुछिएका छन् भने प्रदेशसभा सदस्य लिलावल्लव अधिकारी मानव तस्करी काण्डमा फसेका छन्। यी दुबै घटना मोरङ क्षेत्रका लागि लाजमर्दो बनेका छन्।
जनताको मत र विश्वासबाट निर्वाचित भएका यी नेताहरु विवादमा तानिँदा क्षेत्रकै नाम बदनाम भएको भन्दै साहले कडा प्रतिक्रिया जनाएका छन्। वीरेन्द्रकुमार साहले भने, “मोरङ क्षेत्र नम्बर २ का जनप्रतिनिधिहरुबाट हामीले यस्तो दिनको कल्पना गरेका थिएनौं।
जनताले आफ्नो समस्या समाधान होस् भन्ने विश्वासले मत दिएका थिए, तर जनप्रतिनिधिहरु आफैं समस्या बन्नु भएको छ।” साहले सामाजिक सञ्जालमा आक्रोश पोख्दै लेखेका छन्, “जनताको विश्वास जितेर माननीय पदमा पुगेका तपाईहरु काण्डै काण्डमा फस्नलाई यहाँ आउनु भएको हो? जनताले तपाईहरुलाई आफ्नो क्षेत्रको नाम बदनाम गराउनको लागि मतदान गरेका थिए? अब कुन मुखले फेरि जनताको सामु आउनुहुन्छ?” उनले थप भने, “यो समय अब जनताले आफ्नो पावर देखाउने समय हो।
गलत कर्म गर्ने जो कोहीलाई पनि जनताले आफ्नो मत र आवाजको माध्यमबाट जवाफ दिनेछन्।” साहले स्पष्ट शब्दमा भनेका छन्, “जुनसुकै पार्टीका नेता भए पनि कानुनभन्दा माथि कोही छैन।
सहकारी घोटालामा मुछिएका पोखरेल र मानव तस्करीमा फसेका अधिकारीमाथि कानुनी अनुसन्धान गरिनुका साथै आवश्यक कारबाही हुनुपर्छ।” साहको भनाइ अनुसार जनप्रतिनिधिहरुले क्षेत्रको प्रतिष्ठामा धक्का पुर्याएपछि जनतामा गम्भीर असन्तोष देखिएको छ। “सत्ता साझेदार दल भए पनि गलत कुरा सहेर बस्न सकिँदैन,” साहले जोड दिए। मोरङ क्षेत्रका जनताले आफ्ना नेताहरुलाई गरेको काण्डप्रति आक्रोश व्यक्त गर्दै आलोचना गरेका छन्।
स्थानीय मञ्चहरुमा जनताले खुलेर आफ्नो असन्तोष प्रकट गरेका छन्। एक जनताले टिप्पणी गरेका छन्, “जनताको आवाज दबाउन सकिंदैन। हामी सत्यका पक्षमा उभिन्छौं र गलत काम गर्नेहरुलाई कानुनी दायरामा ल्याउनुपर्छ।” यस घटनाले आगामी चुनावमा प्रभाव पार्नसक्ने आँकलन गरिएको छ।
जनप्रतिनिधिहरुको यो विवादले स्थानीय जनताको मनोभावमा ठूलो परिवर्तन ल्याउन सक्ने सम्भावना देखिएको छ। जनताले अबको चुनावमा यस्ता विवादास्पद नेताहरुलाई कडा जवाफ दिनसक्ने राजनीतिक विश्लेषकहरुको भनाइ छ।