छोराको मुख हेर्ने आमाको धोको अधुरै उद्धार कुर्दाकुर्दै साउदीमै अस्ताए कृष्ण

0 Shares

६ वर्षदेखि साउदी अरबबाट उद्धार कुरिरहेका धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजका कृष्णकुमार यादवको मृत्यु भएको पुष्टि भएको छ । गत जनवरीमा उनको उपचारको क्रममा दमामस्थित साउद अल बपतानिया अस्पतालमा मृत्यु भएको हो ।दमाममै वैदेशिक रोजगारमा रहेका लुम्बिनीका नेपाली स्फाक खानका अनुसार अचानक छाती दुखेपछि कृष्णलाई गत २७ डिसेम्बर राति अस्पताल भर्ना गरिएको थियो । हृदयघातका कारण स्वास्थ्य समस्या जटिल देखिएको भन्दै उनको शल्यक्रिया गरिएको थियो । तर, चिकित्सकले उनलाई बचाउन नसकेको अस्पताललाई उद्धृत गर्दै खानले बताए ।

खानले भने ‘हामी ८ जना सवारीचालक एउटै कोठामा बस्थ्यौं । २७ डिसेम्बर राति कृष्णले अचानक छाती दुख्न थालेको सुनाए । छटपटाउन थालेपछि हामीले उहाँलाई अस्पताल पुर्‍यायौं, । खानको अनुसार ‘डाक्टरले हर्टअट्याक भएको भन्दै, अवस्था जटिल भएकाले अप्रेसन गर्नुपर्छ भन्नु भएको थियो । अप्रेसन पनि भयो । तर, उपचारको क्रममा जनवरीमा कृष्णको निधन भयो।उनका अनुसार अहिले कृष्णको शव अस्पतालमै छ । उनी भन्छन्, ‘उपचार खर्च तिरेर अस्पतालबाट शव ल्याउन त सकिन्छ । तर, कृष्णमाथि अदालतमा मुद्दा रहेकाले गाह्रो छ ।’कृष्णसँगै तीन महिनादेखि एउटै कोठामा बस्दै आएका सिरहाको कर्जन्हा नगरपालिका-३ बन्दीपुरका अजय पासवानले भने, ‘कृष्णलाई समस्या परेको थाहा पाएपछि हामीले सहयोग गर्दै आइरहेका थियौं । अचानक बिरामी परेपछि अस्पताल पुर्‍यायौं।

तर, उपचारको क्रममा उहाँको मृत्यु भयो ।’‘जिउँदोमा घर जान पाउनु भएन । अब कम्तीमा सरकार र सम्बन्धित पक्षले कृष्णको लास घरसम्म पुर्‍याइदिन सहयोग गरिदिनु पर्‍यो,‘ अजयले भने ।कृष्णको मृत्युको खबरले जिउँदो छोरा फर्काउने ७५ वर्षीय बुबा बिल्टुको प्रयास अधुरै बन्न पुगेको छ ।आफू मर्नुअघि छोरा कृष्णको एक पटक अनुहार हेर्ने ७१ वर्षीया जिवछीको धोको पनि अब कहिल्यै पूरा नहुने भएको छ ।

सम्बन्धित समाचारसबै