रोल्पा|रोल्पाको मुरुले लेकमा सिमेन्ट उद्योगलाई चुनढुङ्गा उत्खनन गर्न नदिने स्थानीयले बताएका छन् ।
चुनढुङ्गा उत्खननका लागि शुभम् खनिज उद्योगले खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको छ । चुनढुङ्गा उत्खनन गर्ने स्थानभन्दा एकसय मिटरमाथि लेकमा स्थानीयले ऐतिहासिक ठाउँ भन्दै मन्दिर बनाएका छन् । चुनढुङ्गा उत्खनन रोक्नका लागि स्थानीय केशवराज चन्दको नेतृत्वमा मुरुले बचाउ सङ्घर्ष समिति नै गठन गरेका छन् ।
मन्दिरको एक सय मिटर मुनिबाट चुनढुङ्गा निकालेर एक वर्षसम्म सम्राट सिमेन्टलाई उपलब्ध गराइएको थियो । खानी तथा भूगर्भ विभागले चुनढुङ्गा उत्खनन्का लागि अनुमति दिएको बारेमा स्थानीयले धेरैपछि मात्रै थापा पाएका थिए । गैरकानुनीरुपमा उत्खनन गरिरहेको शुभमले अनुमति पाएकै ठाउँबाट उत्खनन् गर्ने तयारी गरेपछि स्थानीयले त्यसलाई रोकेका थिए ।
मुरुले बचाउन सङ्घर्ष समितिका अध्यक्ष केशवराज चन्दले उद्योगले स्थानीय जनतालाई जालझेल गरेर ढाँटेको आरोप लगाउनुभएको छ । पुनः वातावरणीय परीक्षण गरी स्थानीयको जमिन समेत लिएर इस्लाबाङमा मात्रै उत्खनन गर्नुपर्ने चन्दले बताउनुभयो ।