क्षयरोग मुक्त अभियान बागलुङका चार पालिकामा

0 Shares

गलकोट । बागलुङका चार वटा पालिकामा क्षयरोग मुक्त अभियान सञ्चालन गरिएको छ।

क्षयरोग पत्ता लगाउने, सर्ने दर न्यूनीकरण गर्ने र पत्ता लागेका क्षयरोगीलाई उपचार गरेर क्षयरोग मुक्त पालिका निर्माणका लागि जिल्लाका १० पालिकामध्ये बागलुङ नगरपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका र काठेखोला गाउँपालिकामा क्षयरोग मुक्त अभियान थालिएको छ।

गत वर्ष बडिगाड र गलकोटमा थालिएको अभियान यस वर्ष थप गरेर बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा पुर्‍याइएको हो। नेपाल सरकारले क्षयरोग मुक्त पालिका घोषणा कार्यविधिअनुसार चार पालिकामा क्षयरोग मुक्त अभियानअन्र्तगतका विभिन्न कार्यक्रम सञ्चालन भइरहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका क्षयरोग निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिए।

‘क्षयरोग सरुवा रोग भएकाले सर्ने दर घटाउन सक्नु नै मुख्य अभियान हो जसका लागि क्षयरोगी पत्ता लगाउँदै उपचार गर्दै जानुपर्दछ, क्षयरोगसम्बन्धी सचेतना मुख्य कुरा हो, अभियानले क्षयरोगी पत्ता लगाउने दर बढेको छ, क्षयरोगी पत्ता लगाउँदै उपचार गर्दै गएपछि क्षयरोगी दिगो रुपमा कम हुँदै जान्छन्’, घिमिरेले भने, ‘चालु आर्थिक वर्षमा नै जिल्लामा २०३ क्षयरोगी पत्ता लगेका छन्, उनीहरूले औषधी सेवन गर्नाले क्षयरोग अरुमा सर्दैन र निर्मूलनमा सहयोग पुग्दछ।’

क्षयरोग मुक्त अभियान सञ्चालन भएको बडिगाड गाउँपालिकामा गत वर्ष एक ३३ जनामा क्षयरोग पत्ता लागेको थियो। बडिगाडमा अहिले क्षयरोगीको सङ्ख्या घटेर ४३ जनामा आइपुगेको छ भने क्षयरोगीको सर्वेक्षण गर्नेक्रम जारी छ। यस्तै गलकोट नगरपालिकामा ३१ सक्रिय क्षयरोगी, बागलुङ नगरपालिकामा ३० सक्रिय क्षयरोगी रहेको तथ्यांकमा उल्लेख गरिएको छ।

चार पालिकामा अहिले एआई प्रविधिबाट क्षयरोग पत्ता लगाउने कार्यलाई तीव्रता दिइएको छ भने पालिकामा क्षयरोग संयोजक तोकिएको छ। पालिका प्रमुखकको अध्यक्षतामा क्षयरोग मुक्त समन्वय समिति, वडास्तरीय समिति गठन गर्ने कार्य भइरहेको छ।

सम्बन्धित समाचारसबै