काठमाडौं– युएईमा नेपाल फेष्टिभल २०२५ को उद्घाटन गर्दे स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विदेशिन बाध्य श्रमिकको स्वास्थ्य समस्या चिन्ताको विषय भएकोले यसको समाधानका लागि कार्यक्रम ल्याइने घोषणा गरे ।
‘तपाईंहरुको स्वास्थ्य तपाईं मात्र होइन हाम्रो पनि चिन्ताको विषय हो, मन्त्री पौडेलले भने, देश फर्कंदा पनि स्वस्थ भएर फर्काउन कसरी सकिन्छ भन्नेमा हामी काम गरिरहेका छौं ।’
मन्त्री पौडेलले विदेशमै रहँदा पनि टेलिमेडिसिनमार्फत नागरिकले स्वास्थ्य लाभ लिन सक्ने गरी सरकारले व्यवस्था गरेको भन्दै विदेशिने क्रममा तिर्नुपर्ने महँगो स्वास्थ्य परीक्षण सरकारी अस्पतालमै सुपथ मुल्यमा गराउने गरी गृहकार्य भैरहेको बताए ।
मन्त्री पौडेलले कार्यक्रममा नेपाल प्राकृतिक सुन्दरता र सांस्कृतिक वैभवताले भरिपूर्ण देश भएकाले मित्रराष्ट्रका विदेशी नागरिकहरुलाई कम्तिमा पनि एक पटक अवश्य नेपाल भ्रमण गर्न अनुरोध नेपालीसँग आग्रह गरे । उनले नेपाल र युएईबीच द्विपक्षीय सहयोगका प्रचुर सम्भावनाका क्षेत्रहरु रहेको बताउदै पर्यटन, व्यापार, लगानी, शिक्षा, स्वास्थ्य तथा कृषिका क्षेत्रहरुमा दुईदेशबीच सहकार्य गरी अघि बढ्न सकिने बताए ।
नेपाली राजदूतावास अबुधाबीको समन्वयमा गैरआवासीय नेपाली संघ, यूएई, नेपाली समाज युएई, लगायत युएईमा रहेका सामाजिक संघसंस्थाहरुको संयुक्त पहलमा पहिलो पटक कार्यक्रम भएको नेपाली राजदूत तेजबहादुर क्षेत्रीले जानकारी दिए ।