पोखरा । गण्डकी प्रदेश सरकार मातहतका अस्पतालको स्तरोन्नति गरिने भएको छ ।
स्वास्थ्य मन्त्रालयको सिफारिसमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सबै अस्पताल निर्माणको सैद्धान्तिक सहमति दिएको हो ।
योसँगै हाल ३९५ शय्या रहेको यहाँका अस्पतालको बेड क्षमता ७ सय पुग्नेछ । स्वास्थ्य मन्त्रालयका अनुसार मनाङ र मुस्ताङ जिल्ला अस्पताललाई २५ शय्यामा स्तरोन्नति गरिँदैछ । हाल दुवै अस्पतालको क्षमता १५ शय्या मात्रै छ । पर्वत, स्याङ्जा र तनहुँको दमौली अस्पताललाई १५ बाट ५० शय्यामा स्तरबृद्धि गर्न लागिएको छ । २५ शय्याको स्वीकृतिबाट चलिरहेको पोखराको मातृ शिशु अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिनेछ ।
गण्डकी प्रदेशकै महत्त्वपूर्ण बागलुङको धवलागिरि अस्पताल र नवलपुरको मध्य विन्दु अस्पताललाई १ सय बेडमा स्तरोन्नति गर्न लागिएको छ । धवलागिरि हाल ५० शय्या र मध्य विन्दु २५ शय्या क्षमतामा चलिरहेका छन् ।