मौसम पूर्वानुमान महाशाखाले पछिल्लो समय गर्मी बढ्दै गएका कारण तातो हावाको लहर चल्नसक्ने भएकाले सर्वसाधारणलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको हो ।
विशेषगरी तराई भेगमा ४० डिग्री सेल्सियस अधिकतम तापक्रम मापन गरिएको मौसमविद् रोजन लामिछानेले बताए । ‘मधेस प्रदेश, लुम्बिनी र सुदूरपश्चिममा ३८ डिग्री बढी तापक्रम मापन गरिएको छ,’ उनले भने, ‘२ दिन तापक्रम बढ्ने नै देखिन्छ । तातो हावाकाे लहर चल्न सक्छ सतर्कता अप्नाउनुहोला ।’
नेपालमा पछिल्लो समय तातो हावाको लहर (हिट वेभ) हुनसक्ने सम्भावना बढेर गएको छ । तातो हावाको लहरले मानिसलाई मृत्युसम्म पनि गराउन सक्ने भएकाले सावधानी अपनाउनु जरुरी छ ।
तातो हावाको लहर चल्यो भने सुरुमा शरीर चिलाउने, साना बिमिरा देखिने समस्या हुनसक्छ । घाउ र बिमिरामा इन्फेक्सन भयो भने घाउ ठुला हुने र खटिरा पनि बन्न सक्ने हुन्छ । तातो हावाका कारण खुट्टा सुनिने, रिँगटा लाग्ने र बेहोस पनि हुनसक्ने हुन्छ । रक्तचाप घट्ने लगायतका लक्षण समेत देखिन सक्छ ।