काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षा ऐन जारी गर्न सरकार अझै गम्भीर नभएको बताएको छ।
आज (बुधबार) बिहान मध्यबानेश्वरस्थित रत्नराज्यलक्ष्मी माध्यमिक विद्यालयमा बसेको महासंघको बैठकले सरकार गम्भीर नभएकाले सडक आन्दोलनलाई कमजोर नबनाउने निष्कर्ष निकालेको छ । ‘हिजो रातिकै वार्तामा शिक्षा ऐन जारी गर्न सरकार गम्भीर नदेखिएको पायौं । त्यसैले गृहमन्त्रीले नै चेतावनीपूर्ण अभिव्यक्ति दिनु भयो । शिक्षामन्त्रीले पनि के हो यस्तो भन्ने हिसाबले कुरा गर्नुभयो । अझै पनि सरकार गम्भीर छैन’, महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।
सोमबार र मंगलबार राति अबेरसम्म बसेको बैठक सकारात्मक भएपछि आज दिउँसो बस्ने वार्ता निर्णायक हुने बताइएको छ । महासंघ सहअध्यक्ष नानुमाया पराजुलीका अनुसार वार्ता दिउँसो २ बजेका लागि तय भएको छ । शिक्षक महासंघको आज बिहान बसेको बैठकले वार्तामा जाने र सरकार जसरी प्रस्तुत हुन्छ महासंघ पनि त्यसैगरी प्रस्तुत हुने निर्णय गरेको छ । शिक्षक महासंघको ९ बुँदे प्रस्तावमा विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको तलब,सामाजिक सुरक्षा कोष ,दुर्गम भत्ता, ग्रेड समायोजन, मर्यादा क्रम, अस्पतालमा शिक्षकको उपचारमा छुटको व्यवस्था, निमावि प्रथम र ममावि द्वितीयको तलब, प्रधानाध्यापकको विषय, राहत शिक्षक लगायतका विषय समेटिएको छ ।