काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार इन साइट लाइभ २०३० अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले नयाँ राष्ट्रिय आँखा स्वास्थ्य रणनीतिलाई कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।
उनले नेपालले नयाँ राष्ट्रिय आँखा स्वास्थ्य रणनीति अनुमोदन गरेको उल्लेख गर्दै यस रणनीतिले आँखा स्वास्थ्यलाई प्राथमिक स्वास्थ्य सेवा प्रणाली र आवश्यक सेवाहरूमा एकीकृत गर्न प्राथमिकता दिएको प्रमाणित हुने बताए । उनले आँखा स्वास्थ्य अब एकल कार्यक्रमको रूपमा नहेरिने र यो सरकारको सार्वजनिक स्वास्थ्य संरचनाको हिस्सा बनेको दाबी गरे ।
सरकारले विद्यालयमा आधारित दृष्टि जाँच कार्यक्रम शुरू गरेको जानकारी दिँदै उनले विद्यालय नर्स कार्यक्रम पनि शुरू भइसकेको बताए । जसमा आँखा स्वास्थ्यलाई विद्यार्थी कल्याणको मुख्य हिस्साको रूपमा समावेश गरिएको प्रधानमन्त्री ओलीको भनाइ छ । जसले दिगो विकास लक्ष्य ४/५ अनुरूप लैंगिक समानता र शिक्षामा पहुँचलाई अघि बढाउने बताए । आँखा स्वास्थ्य सूचकहरूलाई देशको राष्ट्रिय स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा समावेश गर्न लागेको जानकारी गराए ।