मोरङ – एएफसी एसियन कप छनोटको तेस्रो चरणको खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली तयारी अभ्यासमा जुटेको छ। अष्टे«लियाका फुटबल प्रशिक्षक म्याट रसको राष्ट्रिय टोलीसँग यो तेस्रो अन्तर्राष्ट्रिय खेल हुने भएको हो। अखिल नेपाल फुटबल संघका प्रवक्ता सुरेश साहका अनुसार टोलीले जुन १० मा लाओसविरुद्ध समूह चरणको दोस्रो खेलमा प्रतिस्पर्धा गर्नेछ।
नेपाली टोली छनोटअन्तर्गत समूह एफमा रहेको छ। यसअघि पहिलो खेलमा मलेसियाविरुद्ध प्रतिस्पर्धा गरेको नेपालले अब लाओस, भियतनामसँग प्रतिस्पर्धा गर्नेछ। भियतनामसँग भने अक्टोबर ९ मा खेल्नेछ।
छनोटअन्तर्गत समूह चरणको पहिलो खेल मलेसियासँग खेलिसकेको नेपालका लागि लाओसविरुद्धको खेल अहम हुने प्रवक्ता शाहले जानकारी दिए।
एन्फाका अनुसार टोलीले आफ्नो तयारी शतप्रतिशत रुपमा गरिरहेको छन्। लाओसको खेलपूर्व अभ्यासका क्रममा बिहीबारबाट टोली मनाङ पुग्ने उनले बताए। प्रवक्ता शाहले भने, ‘केही दिन टोली मनाङमा अभ्यासमा जोडिनेछ। लाओसको मौसम अनुकूल खेलाडीको तयारीमा जुटेका हाँै। प्रशिक्षक रसले आफ्नो डेब्यु खेलमा सिंगापुरविरुद्ध जितको नतिजा निकालेका थिए र यसपटक पनि हामीले सोहीअनुरुपको नतिजा अपेक्षा गरेका छाैँ।’
उनका अनुसार एसियन छनोटअन्तर्गत मलेसियाविरुद्ध अपेक्षाकृत नतिजा नआए पनि ४५ वर्षपछि पहिलोपटक सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेलमा टोलीले जित निकालेको थियो। सिंगापुरविरुद्ध नेपाली टोलीले गत चैत ८ गते सिंगापुरको मैदानमा प्रतिस्पर्धा गरेको थियो। सो खेलमा जिलेस्पी जंग कार्कीको एक मात्र गोलले नेपाली टोली विजयी भएको थियो।