बिस हजार परिवार बैतडीका स्वास्थ्य बिमामा आबद्ध

0 Shares

काठमाडौँ –  बैतडीका अहिलेसम्म २० हजार ३ परिवारका ५२ हजार जना स्वास्थ्य बिमामा आबद्ध रहेको स्वास्थ्य बिमा सम्पर्क कार्यालय बैतडीका प्रमुख जमनसिंह बडालले बताउनुभयो ।

स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन जिल्लाका दश ओटै स्थानीय तहमा संयोजन समिति गठन गर्ने कामसमेत भइरहेको बडालले बताउनुभयो । जिल्लाको दशरथचन्द नगरपालिका र डिलाशैनी गाउँपालिकामा यसअघि नै स्वास्थ बिमा संयोजन समिति गठन भईसकेको छ ।

स्वास्थ्य बिमामा आबद्ध भएका नागरिकको सहजता र स्वास्थ्य बिमामा आम नागरिकको पहुँच पुर्याउन स्थानीय तहमा संयोजन समिति गठन गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो । स्वास्थ्य  बिमामा आबद्ध हुँदा ५ जनासम्म सदस्य भएको परिवारले ३ हजार ५ सय रुपैयाँ प्रिमियम तिरेपछि एक बर्षका लागि १ लाखसम्मको उपचार सुविधा पाउने बडालले बताउनुभयो । स्वास्थ्य बिमाको सेवा निरन्तर रुपमा पाउन हरेक बर्ष बीमा नवीकरण गर्नुपर्ने प्रावधान छ ।

५ जना भन्दा बढीको स्वास्थ्य बिमा गर्न चाहे प्रति सदस्य थप ७ सय रुपैयाँका दरले प्रिमियम तिर्नुपर्ने र उहाँहरुले प्रति थप सदस्य २० हजारका दरले उपचार सेवा पाउने प्राबधान रहेको बडालले बताउनुभयो । हालसम्म बिमा गरेको तीन महिनापछि मात्रै लागुहुने गरेको स्वास्थ बिमा अबदेखि तुरुन्तै लागुहुने भएको छ ।

सम्बन्धित समाचारसबै