दाङमा बलात्कार आरोपमा घोराही उपमहानगरपालिका-१६ का ३४ वर्षीय मार्शल रोका पक्राउ परेका छन्।
तुलसीपुरकी एक महिलाले रोकाविरूद्ध किटानी जाहेरी दिएपछि गत मंगलबार राति प्रहरी ले उनलाई उनकै घर बाट पक्राउ गरेको हो।
रोकाले महिलालाई बिहे गर्छु भनेर घरमा लगेर राखेको उल्लेख छ।
अदालतले रोकालाई सात दिन हिरासतमा राखेर घटनाको अनुसन्धान गर्न अनुमति दिएको एसपी वलीले बताए।
उनीहरूबीच ‘एक-दुई वर्षयता रिलेसन रहेछ,’ ती प्रहरी अधिकारीले भने, ‘केटीले बिहेको प्रस्ताव राखेपछि रोकाले उनलाई आफ्नै घरमा लगेर एक रात राखेको भन्ने छ।’
प्रहरीका अनुसार रोकाले आफू विवाहित हो भन्ने कुरा महिलासँग लुकाएका रहेछन्। दोस्रो दिन घरपरिवारले कराउन थालेपछि मात्रै रोका विवाहित हो भन्ने आफूलाई थाहा भएको पीडित महिलाले जाहेरीमा उल्लेख गरेकी छन्।
त्यसपछि रोका र उनका परिवारले आफूलाई घरबाट निकालेको पीडित महिलाले जाहेरीमा उल्लेख गरेकी छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा पनि रोकाले चैत २६ गते राति ती महिलालाई आफ्नै घरमा राखेको खुलेको छ।
‘भोलि हाम्रो बिहे भइहाल्छ भन्दै ललाइ-फकाइ गरी घरमै लगेर राखेको खुलेको छ,’ एक प्रहरी अधिकारीले भने।
घटनाबारे थप अनुसन्धान भइरहेको एसपी वीरबहादुरा वलीले बताए।