काठमाडौँ। लामखुट्टेहरूलाई मलेरिया अर्थात् औलोको औषधि दिएर परजीवीमुक्त पार्दा तिनले उक्त रोग फैलाउन नसक्ने निष्कर्षमा अमेरिकी वैज्ञानिकहरू पुगेका छन्।
मलेरियाका कारण संसारभरि बर्सेनि झन्डै ६ लाख मानिसको ज्यान जान्छ। सङ्क्रमित पोथी लामखुट्टेले रगत चुस्न मानिसलाई टोक्दा यो रोग सर्छ।
अहिलेसम्म लामखुट्टेलाई मलेरियामुक्त पार्ने प्रयास नगरी कीटनाशक पदार्थ प्रयोग गरेर तिनलाई मार्ने उपाय अवलम्बन गर्दै आइएको छ।
हार्भड विश्वविद्यालयसँग आबद्ध वैज्ञानिकहरूको एउटा टोलीले लामखुट्टेमा हुने परजीवी (प्लाज्मोडिअम) नष्ट गर्न सक्ने दुइटा औषधि पत्ता लगाएका छन्। ती औषधि लामखुट्टेका खुट्टाबाट शरीरभित्र प्रवेश गर्छन्।
ती औषधिको घोललाई झुलमा लेपन गरेर प्रयोगमा ल्याउने दीर्घकालीन लक्ष्य छ। औलो फैलाउने लामखुट्टेले रात परेपछि टोक्ने भएकाले झुलभित्र सुत्नुलाई सो रोगबाट जोगिने सबैभन्दा उत्तम उपाय मानिन्छ।