काठमाडौँ। अन्तर्राष्ट्रिय संस्थामा कार्यरत काठमाण्डूका एक दम्पतीको गाडी रोजाइले नेपालमा विद्युतीय कार (इलेक्ट्रिक भिअकल-ईभी) प्रतिको आकर्षण देखाउँछ। उनीहरूको गाडी चयनले भारत र चीनमा निर्मित गाडीबीचको प्रतिस्पर्धा समेत झल्काउँछ।
संयुक्त राष्ट्र सङ्घ बालकोष (युनिसेफ) मा कार्यरत सुरेन्द्रबाबु ढकाल तीन वर्ष अघिसम्म भारतमा निर्मित कोरियाली कम्पनीको गाडी चढ्थे।
नेपालमा विद्युतीय गाडीको बजार बढ्न थालेकै बेला हो उनले भारतीय विद्युतीय गाडी किने। त्यस बेला नेपाली बजारमा भारतीय विद्युतीय गाडीको माग यसरी बढेको थियो कि बुकिङ गरेको छ महिनासम्म पर्खिनु परेको ग्राहकहरू सुनाउँछन्।
ढकाल भन्छन्, “मैले पनि झन्डै डेढ महिना पर्खिनु परेको थियो।”
मल्टिल्याटरल डिभलपमेन्ट बैङ्कमा कार्यरत उनकी पत्नी सुनिला घिमिरेलाई काठमाण्डूको अव्यवस्थित ट्राफिक जाममा गाडी हाँक्न चुनौतीपूर्ण लाग्थ्यो। आँट पनि गरेकी थिइनन्।
पेट्रोल गाडी चलाउन सुरुमा बडो सकस पनि भएछ। बानी पर्दै गयो। उनको रुचि पनि मोडियो, विद्युतीय गाडीतर्फ। उनले रोजिन चिनियाँ बिजुली गाडी।