नेपालगन्ज — एडभोकेसी फोरम नेपालद्वारा बाँकेको डुडुवास्थित आसमानपुरमा रहेको जयेन्दु बालसुधार गृहमा १ दिने नि:शुल्क स्वास्थ्य चेकजाँच तथा उपचार शिविर आयोजना गरिएको छ ।
बालन्यायको क्षेत्रमा कार्यरत एडभोकेसी फोरमले बाँके जिल्ला अदालत, जयेन्दु बालसुधार गृह र भेरी अस्पताल नेपालगन्ज, लायन्स क्लब अफ नेपालगन्ज जीवनसँगको सहकार्यमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
सुधार गृहमा रहेका जम्मा २१७ जना बालकमध्ये १२० ले स्वास्थ्य जाँच र औषधोपचार सेवा पाएका छन् । यसबाहेक अन्यलाई स्वास्थ्य परामर्श र ३ जनालाई थप उपचारका लागि भेरी अस्पताल रेफर गरिएको छ ।
स्वास्थ्य शिविरमा भेरी अस्पतालमा कार्यरत वरिष्ठ छाला रोग विशेषज्ञ डा. अस्मिता गौतम, डा.जनक देवकोटा र अस्पताल नर्सिङ निरीक्षक बसुन्धरा ज्ञवालीले स्वास्थ्य सेवा दिइन् ।
स्वास्थ्य चेकजाँचका क्रममा जयेन्दु बाल सुधार गृहमा रहेका कानुनी विवादमा परेका अधिकांश बालकहरुमा छाला रोगको संक्रमण पाइएको स्वास्थ्य शिविर संयोजन गरेका एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतमले जानकारी दिए ।
स्वास्थ्य चेकजाँचका क्रममा अधिकांश बालकहरुमा लुतो, फङ्गल इन्फेक्सन, डण्डिफोर, घमौरा, स्कोरटल एक्जीमा, पिलो, दुवीको समस्या देखिएका उपचारमा संलग्न छाला रोग विशेषज्ञ डा. अस्मिता गौतमले जानकारी दिइन् ।