सहरमा जागिरको विकल्प ‘राइड सेयरिङ’

0 Shares

काठमाडौँ — सहरमा ‘राइड सेयरिङ’ले यात्रीका लागि मात्रै सहज भएको छैन कतिपयका लागि रोजगारी र राम्रो खर्च जुटाउने स्रोत बनेको छ । क्याम्पस पढ्ने हुन् कि विदेश जाने तयारीमा रहेकोहरु । युवा हुन् कि वयस्क, महिला हुन् कि पुरुष ‘राइड सेयरिङ’ले धेरैलाई आम्दानीको अवसर सिर्जना गरिदिएको छ ।

त्यसो त दिनभरि रोजगारीमा रहेकाले पनि ‘राइड सेयरिङ’मार्फत आयआर्जन गरिरहेका छन् । आफ्नो दुई पाङ्ग्रे साधन प्रयोग गरी कमाइ गर्दै खर्चको व्यवस्थापन गर्ने युवाको संख्या बजारमा ठूलो छ ।

‘राइड सेयरिङ’मार्फत आयआर्जन गर्दै लोकसेवा तयारी खर्च जुटाइरहेका छन्, कैलालीका शक्तिराम चौधरी । कृषिमा डिप्लोमा सकेर काठमाडौं पसेका २५ वर्षीय चौधरी बागबजारमा लोकसेवा तयारी कक्षा सकिएपछि मोटरसाइकल लिएर यात्रीको प्रतीक्षा गर्छन् । लोकसेवाको तयारी गरिरहँदा महिनैपिच्छे घरबाट पैसा माग्न अप्ठ्यारो हुने भएर पठाओ चलाउन थालेको उनले बताए ।

‘घरमा कमाउने कोही छैनन्, बुढा बुबाआमा काम गर्न सक्नुहुन्न । ऋण खोजीखोजी हरेक महिना पैसा पठाउ भन्न निकै गाहृो भएर पठाओ चलाउन थाले,’ उनले भने । पठाओ चलाएर भएको आम्दानीले शक्तिराम आफूमात्र होइन उनकी श्रीमती पनि लोकसेवाको तयारी गरिरहेकी छन् । जागिर नभए पनि पठाओ चलाएको आम्दानीले गर्दा काठमाडौंमा श्रीमान्–श्रीमतीको ट्युसन शूल्क, कापीकिताब तथा कोठाभाडा तिरेर बचेको पैसा कैलालीको भजनी नगरपालिकामा बस्दै आएका बाआमालाई पनि पठाउन पुग्छ ।

‘कुनै जागिरबिना पढ्दै गरिरहँदा समय मिल्ने बित्तिकै पठाओ गरेर पनि घरभाडा, रासनखर्च, दुई जनाको पढाइखर्च, आमाबुबालाई कहिलेकसो थोरै भए पनि पैसा पठाउन पुगेको छ, अहिलेलाई यसमै खुसी छु,’ उनले भने । ‘राइड सेयरिङ’ मार्फत उनले दिनमा १५ सय रुपैयाँभन्दा बढी कमाउँदै आएका छन् ।

नेपालमै बसेर खाली समयमा बाइक चलाएरै पैसा कमाउन सकिने कुराले भने उनी दंग छन् । शक्तिरामको सपना लोकसेवा पास गरेर सरकारी जागिर खाने छ । विदेश गएर दुःख गर्नुभन्दा स्वदेशमै संघर्ष गर्ने उनको चाहना छ । ‘साथीहरु विदेश गइसके मलाई नेपालमै बसेर मिहिनेत गरेर परिवारसँग बस्न मन छ,’ शक्तिराम भन्छन् ।

सम्बन्धित समाचारसबै