शिक्षा विधेयक : समितिको बैठक अझै बस्न सकेन, मन्त्री पन्त शीर्ष नेतासँग परामर्श गर्दै

0 Shares

काठमाडौँ — विद्यालय शिक्षा विधेयकमा सहमति जुटाउन आज बिहान ९ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अझैसम्म सुरु हुन सकेको छैन।

विधेयकमा अस्थायी, करार तथा राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट ६० प्रतिशत र खुला प्रतिस्पर्धाबाट ४० प्रतिशतको अनुपातमा स्थायी गर्ने प्रस्ताव गरिएको छ। तर, नेपाल शिक्षक महासंघले भने ७५ प्रतिशत आन्तरिक र २५ प्रतिशत खुला प्रतिस्पर्धाबाट स्थायीत्वको माग गर्दै आएको छ।

शिक्षक बढुवाको व्यवस्था लगायतका अन्य प्रावधानहरूमा पनि असहमति रहेपछि आज दिउँसो शिक्षामन्त्री रघुजी पन्त र महासंघका प्रतिनिधिबीच शिक्षा मन्त्रालयमा छलफल भएको थियो। तर, सहमति नजुटेपछि महासंघका महासचिव तुलाबहादुर थापासहितका प्रतिनिधिहरू मन्त्रालयबाट बाहिरिएका छन्।

समितिका सभापति अम्मरबहादुर थापाले शिक्षामन्त्री पन्त उपस्थित भए मात्र बैठक बस्ने जानकारी दिएका छन्, अन्यथा बैठक अनिश्चितकालका लागि स्थगित गरिने बताए।अहिले शिक्षामन्त्री पन्त सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूसँग परामर्शमा व्यस्त रहेको बताइएको छ।

सम्बन्धित समाचारसबै