उपचारका क्रममा कैदीको मृत्यु, नारायणी अस्पतालको अवस्था तनावग्रस्त

0 Shares

वीरगन्ज- वीरगन्जको नारायणी अस्पतालमा उपचारका क्रममा मंगलबार एकजना कैदीको मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका-२५ को घर भएका कैदी राहुल साहको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख  गौतम मिश्रले जानकारी दिएका हुन् ।मिश्रका अनुसार बिहान वीरगन्ज कारागारमा व्यायाम गरिरहेका बेला साहको स्वास्थ्य समस्या आएको थियो ।  ‘उनलाई तत्कालै अस्पतालमा लगियो, तर त्यहाँ उनको मृत्यु भयो,’ उनले भने ।

मृतक साह ३ वर्षदेखि कर्तव्य ज्यान मुद्दामा जेल सजाय काट्दै आएका थिए । उनीमाथि कर्तव्य ज्यान मुद्दामा अदालतबाट २५ वर्षको सजायको फैसला रहेको पर्सा प्रहरीले जनाएको छ ।

यता उपचारका क्रममा साहको मृत्यु भएपछि आफन्तहरूले अस्पताल प्रशासन, जेल प्रशासन र चिकित्सकमाथि लापरबाहीको आरोप लगाउँदै नारायणी अस्पताल बाहिर टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

परिवारका अनुसार अस्पतालले प्रारम्भिक उपचारपछि थप उपचारका लागि अन्यत्र लैजान सिफारिस गरेको थियो । तर, कैदीलाई अन्य अस्पतालमा लैजान जेल प्रशासनले अनुमति नदिँदा मृत्यु भएको भन्दै मृतकका आफन्तहरूको आरोप छ। घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न उनीहरूको माग छ ।

सम्बन्धित समाचारसबै