विराटनगरस्थित पारस मल्टिस्पेसलिटी अस्पतालले भारतको प्रतिष्ठित एम्स (AIIMS) अस्पताल, नयाँ दिल्लीमा कार्यरत वरिष्ठ फिजिसियन डा. विमलेश यादवलाई औपचारिक रूपमा आफ्नो टोलीमा भित्र्याएको छ। डा. यादवको आबद्धतासँगै अस्पतालले आफ्नो चिकित्सा सेवालाई थप सुदृढ बनाउने घोषणा गरेको छ।
यसका साथै, अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत पत्रकार, आर्थिक रूपमा विपन्न तथा असहाय बिरामीहरूका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउने महत्वपूर्ण निर्णयसमेत सार्वजनिक गरेको छ।
तीन वर्षभन्दा बढी समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको यस अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि थप विशेषज्ञ सेवा उपलब्ध गराउन डा. यादवलाई आबद्ध गरिएको अध्यक्ष डा. सफिउर रहमानले जानकारी दिए। उनका अनुसार अनुभवी चिकित्सकमार्फत गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यो कदम चालिएको हो।
सोही अवसरमा अध्यक्ष रहमानले डा. मुनेश्वर यादवलाई अस्पतालको मेडिकल डाइरेक्टर (MD) को जिम्मेवारी प्रदान गरिएको घोषणा समेत गरे।

अस्पतालले सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्दै अध्यक्ष रहमानले भने, “समाजमा सूचना प्रवाह गर्ने महत्त्वपूर्ण माध्यम पत्रकारहरू हुन्, उनीहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै हामीले निःशुल्क उपचारको व्यवस्था गरेका छौँ। साथै, आर्थिक अभावका कारण कोही पनि उपचारबाट वञ्चित हुन नपरोस् भनेर आवश्यक मापदण्डका आधारमा विपन्न र असहाय बिरामीलाई पनि निःशुल्क सेवा प्रदान गरिनेछ।”
कार्यक्रममा अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हेमनारायण मेहताले अतिथिहरूलाई स्वागत गर्दै आगामी दिनमा विशेषज्ञ सेवाहरू थप विस्तार गर्ने योजना रहेको बताए।
अनुभवी चिकित्सक, अत्याधुनिक उपकरण र बिरामीमैत्री वातावरणमार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने प्रतिबद्धता अस्पतालले दोहोर्याएको छ। आन्तरिक चिकित्सा (इन्टरनल मेडिसिन), विशेषज्ञ परामर्श र आकस्मिक सेवालगायतका विधालाई अझ प्रभावकारी र सहज बनाउँदै लैजाने अस्पतालको योजना छ।

