काठमाडौँ । नेपाली कांग्रेसले मङ्गलबारबाट भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालयमा भएको क्षतिको विवरण सङ्कलन गर्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयसमेत आन्दोलनका क्रममा जलाएर ध्वस्त पारिएकाले सोमबारसम्म काम गर्न नपाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
‘जेनजी प्रदर्शनका क्रममा जलेको केन्द्रीय कार्यालयमा काम गर्नका लागि अस्थायी संरचना बनाएका छौँ । मङ्गलवारबाट मुलुकभरका पार्टी संरचनामा भएका क्षतिको विवरण सङ्कलन थाल्छौँ,’ मुख्यसचिव पौडेलले रातोपाटीसँग भने ।
आन्दोलनका क्रममा कांग्रेसका केन्द्रीय कार्यालयसहित अधिकांश प्रदेश, जिल्लासहितका कार्यालयमा आगजनी र तोडफोड भएका छन् ।
पार्टीका तर्फबाट सांसदमा निर्वाचित भएर विभिन्न कालखण्डमा मन्त्री भएकाहरूका निजी निवाससमेत आन्दोलनकारीले तोडफोड र आगजनी गरेका छन् । अहिलेसम्म पार्टीका कति संरचनामा क्षति भयो भन्न सक्ने अवस्था नरहेको पौडेलले जानकारी दिए ।
आन्दोलनकारीले कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी पार्टी केन्द्रीय सदस्य डा.आरजु राणालाई बुढानीलकण्ठस्थित निवासमा कुटपिट गरेका थिए ।
उनीहरूको अहिले उपचार भइरहेको छ । सभापति देउवा निवास पनि आन्दोलनकारीले जलाएर ध्वस्त पारिदिएका छन् ।