विराटनगर,८ पुस
बर्षौदेखी हुलाकी सडक अलपत्र छाडेर नागरिकहरुलाई हदैसम्म सास्ती दिने ठेकेदार कम्पनीको ठेक्का तोडिएपछि चाँडै निर्माण सम्पन्न गराउन स्थानिय तहलाई ठेक्का दिन मोरङको कटहरी गाउँपालिकाले सरकारसँग आग्रह गरेको छ ।
कटहरी गाउँपालिका प्रमुख देवराज चौधरीले विराटनगरको हाटखोलादेखी कटहरी गाउँपालिकाको नयाँबजार सम्मको करिब ६ किमी अलपत्र हुलाकी सडक खण्ड अब चाँडो निर्माण गराउन स्थानिय तहलाई ठेक्का दिन संघिय सरकारसँग माग गरेका हुन ।
पालिका प्रमुख चौधरीले अलपत्र सडक पब्लिक प्राईभेट पार्टनरशीप मोडलमा पालिकालाई ठेक्का दिए आफुहरुले ६ महिना भित्रै अलपत्र रहेको हुलाकी सडक निर्माण सम्पन्न गरिदिने प्रतिबद्धता गरेका छन । उनले सरकारले निर्माण कार्य अलपत्र छाडने कम्पनीको ठेक्का तोडेपछि खाल्डाखुल्डी पुर्न र पानी छयाप्ने कामहरु गर्न थालेको र निर्माण कार्य पालिकाले ठेक्का लिन आग्रह गर्नेबारे सर्वदलिय बैठकबाट निर्णय पनि गराइसकेको वताएका छन ।
नयाँ निर्माण कम्प्नीलाई देशैभरिका तोडिएका ठेक्का सम्झौता गर्न समय लाग्ने भएकोले पालिकालाई पीपीपी मोडलमा ठेक्का दिए चाँडो निर्माण सम्पन्न हुने प्रमुख चौधरीको भनाई छ । कटहरी पालिका अध्यक्ष चौधरीले भने ‘संघिय सरकाले अलपत्र हुलाकी सडकखण्ड निर्माण गर्ने जिम्मा पालिकालाई दियो भने ६ महिनाभित्रै काम सकिदिनेथ्यौ र यो नेपालमै पहिलो मोडल पनि बन्ने थियो । ’
हेटौडाको श्रेष्ठ कन्ट्रक्सन प्रालीले सरकारबाट करिब १० करोड रुपैयाँ पेश्की (एडभान्स) रकम बुझेर पनि हुलाकी सडकको नयाँ बजार विराटनगर खण्ड वर्षौंसम्म अलपत्र छाडदा स्थानिय हिउँदमा धुलो र बर्षामा हिलोले हैरान थिए । साथै उक्त्त खण्डमा सडक अलपत्र हुँदा हुलाकी मार्ग भएर यात्रा गर्ने यात्रुहरु पनि मारमा थिए ।
विराटनगरदेखी झापाको भद्रपुरसम्म हुलाकी सडक सर्रर निर्माण भैसकेपनि कटहरी विराटनगर खण्डको ६ किमी सडक भने चार बर्षदेखी अलपत्र थियो । अलपत्र सडक खण्डले गर्दा हुलाकी राजमार्गको सही उपयोग गर्न नपाएको औधोगिक करिडोरका उद्योगी व्यपारी र यात्रा गर्ने यात्रुहरुले गुनासो गर्दै आएका थिए ।
अलपत्र उक्त्त सडक खण्ड चाँडो निर्माण गराउन स्थानियबासी , राजनैतिक दल र सघ र प्रदेशका सांसदहरुले हडताल गर्ने , प्रशासन घेराउ गर्ने , रिलेअनसन समेत बसेका थिए । प्रशासनले सडक चाँडो निर्माण गराउन तीन पटक सम्म ठेक्का तोडन संघमा परिपत्र गरेको थियो । तर पनि ठेक्का तोडिएको थिएन ।
तर भौतिक मन्त्रालय कुलमान घिसिङले सम्हालेपछि हुलाकी सडक योजना कार्यलयले विराटनगर कटहरी खण्डको ठेक्का तोडेको हो । मन्त्री घिसिङको निर्देशनपछि योजना कार्यालय इटहरीले सूचना जारी गर्दै ठेक्का अन्त्य भएको घोषणा मात्र गरेको छैन, काम नै नगरी राज्यको पैसा चलाउने निर्माण व्यवसायीबाट ब्याजसहित रकम फिर्ता लिने निर्णय समेत गरेको छ ।
ईटहरी योजना प्रमुख युवराज पोखरेलका अनुसार, निर्माण व्यवसायीले राखेको ४ करोड १९ लाख रुपैयाँ बराबरको कार्य सम्पादन जमानत जफत गर्ने काम सुरु गर्न भन्दै लगिएको तर काममा नलगाइएको ९ करोड ६७ लाख रुपैयाँ पेश्की (मोबिलाइजेसन पेस्की) रकम पनि जफतका लागि बैंकमा पत्राचार गरेको छ ।
जस अनुसार निर्माण व्यवसायीबाट कुल करिब १४ करोड रुपैयाँभन्दा बढी रकम सरकारी खातामा फिर्ता हुनेछ । हुलाकी सडक अन्तर्गतको विराटनगर कटहरी ६ किमी सडक स्तरोन्नी गरेर ६ लेनको बनाउन २०७६ कात्र्तिक २३ गते श्रेष्ठ कन्स्ट्रक्सनले ८३ करोड ९९ लाख रुपैयाँमा ठेक्का लिएको थियो ।
यो सडक खण्ड ३ वर्षभित्र २०७९ कात्तिक २३ सम्म निर्माण सक्नुपर्नेमा२०८२ साल वितिसक्न लाग्दा र तीन पटक म्याद थपिसक्दा पनि २५ प्रतिशत भन्दा बढि निर्माण प्रगती हुन सकेको थिएन । पछिल्लो पटक थपिएको म्याद गत जेठमै सकिएपछि निर्माण व्यवसायी निर्माण अलपत्र छाडेर बेपत्ता भएको थियो ।