मंगलबार एक्स्पो स्थलमै आयोजित पत्रकार सम्मेलनमा संघले ११ दिनसम्म चल्ने महोत्सवका लागि आवश्यक भौतिक पूर्वाधार र व्यवस्थापकीय तयारी सम्पन्न भएको जानकारी दिएको थियो। एक्स्पो उद्घाटन गर्न संघीय सरकारका अर्थमन्त्री रामेश्वर खनाल आउने बताइएको छ। मौसम अनुकूल रहेमा उहाँ उद्घाटन कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ।
एक्स्पो संयोजक अमितकुमार शारदाका अनुसार महोत्सवमा स्वदेशी तथा विदेशी गरी २३० वटा स्टल रहनेछन्। तीनवटा ठूला ह्याङ्गर (डोम) भित्र २०० भन्दा बढी स्टल राखिएका छन्। प्रदर्शनीमा कृषि, उद्योग, कला–संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य र सूचना प्रविधिसम्बन्धी सामग्रीहरू राखिनेछन्। नेपालसँगै भारत, बंगलादेश र पाकिस्तानका उत्पादनहरू पनि प्रदर्शनीमा समावेश हुनेछन्।
महोत्सव अवधिभर ८ दिनसम्म स्टार्टअप, महिला उद्यमशीलता, पर्यटन, एआई, सूचना प्रविधि र नयाँ कर प्रणालीलगायत ९ वटा विषयमा सेमिनार र थिमेटिक सेसन सञ्चालन गरिनेछ। यसमा आइडिया स्टुडियो र स्विस कन्ट्याक्टजस्ता संस्थाहरूले सहकार्य गरेका छन्।
आर्थिक मन्दीका कारण सुस्ताएको अर्थतन्त्रलाई चलायमान बनाउन एक्स्पोले सहयोग पुग्ने आयोजकको विश्वास छ। एक्स्पोमा करिब २ लाख दर्शक आउने र २० देखि २५ करोड रुपैयाँसम्मको कारोबार हुने लक्ष्य राखिएको छ।