जेनजी घाइतेको सूचीकरणमा ढिलाइ नगर्न स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयको निर्देशन

0 Shares

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूको पूर्ण विवरण उपलब्ध गराउन देशभरका स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार उपचारमा संलग्न सबै स्वास्थ्य संस्थाले छुट भएका घाइतेको विवरण तत्काल मन्त्रालयमा पठाउन भनिएको हो।

घाइतेहरूको उपचार तथा राहत व्यवस्थापन प्रभावकारी बनाउन गठित समन्वय समितिको निर्णयअनुसार फागुन १५ गतेभित्र विवरण उपलब्ध गराउन आग्रह गरिएको मन्त्रालयले जनाएको छ। सूचीकरण, वर्गीकरण तथा पुनःवर्गीकरण कार्य समयमै सम्पन्न गर्न फागुन १ देखि १५ गतेभित्र विवरण पठाउन भनिएको प्रवक्ता बुढाथोकीले जानकारी दिए।

मन्त्रालयले तोकिएको समयसीमाभित्र प्राप्त निवेदनमाथि छानबिन गरी घाइतेहरूको अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेको छ।

हालसम्म करिब २०० जना घाइतेको वर्गीकरण विवरण मात्रै प्राप्त भएको छ। धेरै घाइते सामान्य अवस्थाका भएकाले सुविधा नपाउने आशंकाले सम्पर्कमा नआएको हुन सक्ने मन्त्रालयको अनुमान छ।

सरकारले अतिगम्भीर घाइते तथा उनीहरूको स्याहारकर्तालाई मासिक ९ हजार रुपैयाँ, गम्भीर घाइतेलाई मासिक ९ हजार रुपैयाँ र मध्यम घाइतेलाई मासिक ४ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रालयका तथ्याङ्कअनुसार जेनजी प्रदर्शनका क्रममा कुल २,५९९ जना घाइते भएका छन्।

सम्बन्धित समाचारसबै