काठमाडौं । राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माउनुपरेको घटनाले सरकारी स्वास्थ्य सेवामाथि गम्भीर प्रश्न उठेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले प्रत्यक्ष छानबिन अघि बढाएको छ।
घटनाको वास्तविकता बुझ्न मन्त्रालयले नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा. अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पठाउने भएको हो। उपचारात्मक सेवा महाशाखाका प्रमुख डा. पवनजंग रायमाझी पनि टोलीमा रहनेछन्।
मन्त्रालयले अस्पतालसँग घटनाबारे स्पष्टीकरण माग्दै स्थलगत छानबिनबाट सत्यतथ्य बाहिर ल्याउने जनाएको छ। छानबिनका क्रममा लापरबाही वा दोष देखिएमा सम्बन्धित व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने मन्त्रालयको भनाइ छ।
यता, अस्पतालले पनि घटनाबारे आन्तरिक छानबिन समिति गठन गर्ने तयारी गरेको छ। उपचारका लागि अस्पताल पुगेकी महिला स्वास्थ्य सेवाबाटै वञ्चित हुनुपरेको आरोपपछि अब छानबिनले घटनाको वास्तविकता र जिम्मेवार पक्ष पहिचान गर्ने अपेक्षा गरिएको छ।