काठमाडौं । रौतहटको मौलापुर नगरपालिका अहिले प्रमुख प्रशासकीय अधिकृतविहीन छ। तर यसको असर भने कार्यालयको प्रशासनिक काममा मात्रै सीमित छैन—कर्मचारीको तलबदेखि विपन्न परिवारको बिजुली, छोरीको विवाह अनुदान र नगरको फोहोर व्यवस्थापनसम्म प्रभावित भएको छ।
यही संकटलाई लिएर मौलापुरकी नगरप्रमुख रिनाकुमारी साहले प्रधानमन्त्री बालेन्द्र शाहलाई सार्वजनिक अपिल गर्दै संघीय सरकारमाथि प्रश्न उठाएकी छन्।
मेयर साहका अनुसार कुनै समय ९० प्रतिशतभन्दा बढी वित्तीय तथा भौतिक प्रगति गर्दै आएको नगरपालिकाको गत आर्थिक वर्षको बजेट खर्च ५० दशमलव ६८ प्रतिशतमा सीमित भयो। यसको प्रमुख कारण संघीय सरकारको हस्तक्षेप र प्रमुख प्रशासकीय अधिकृतको अभाव भएको उनको दाबी छ।
प्रधानमन्त्री शाह काठमाडौं महानगरपालिकाको मेयर हुँदा दिएको अभिव्यक्ति सम्झाउँदै साहले पत्रमार्फत व्यंग्यात्मक प्रश्नसमेत गरेकी छन्।
उनले लेखेकी छन्—काठमाडौंमा कर्मचारीको तलब एक साताभित्र नदिए ‘टुकुचा’मा गाड्ने अभिव्यक्ति दिनुभएको थियो। तर मौलापुरका कर्मचारीको तलब दुईदेखि आठ महिनासम्म रोकिएको छ। जनप्रतिनिधिको सुविधा चार महिना र वडा सञ्चालन खर्च आठ महिनादेखि भुक्तानी हुन सकेको छैन। त्यसका लागि ‘कस–कसलाई लालबकैयामा गाड्ने हो, सल्लाह पाउँ’ भन्दै उनले प्रधानमन्त्रीलाई प्रश्न गरेकी छन्।
नगरपालिकामा हाकिम नहुँदा सोनारनियामा निर्माणाधीन एकीकृत दलित बस्तीको भुक्तानी रोकिएको छ। पाँच हजारभन्दा बढी विपन्न उपभोक्ताको निःशुल्क बिजुली–पानी कार्यक्रम प्रभावित भएको छ। तीन सयभन्दा बढी विपन्न छोरीको विवाह अनुदानसमेत रोकिएको मेयर साहको भनाइ छ।
त्यसैगरी पेट्रोल पम्पले उधारोमा इन्धन दिन छाडेको, चिया पसलको भुक्तानी रोकिएको र इन्टरनेट सेवा काटिएको उनले उल्लेख गरेकी छन्। चाडपर्व नजिकिँदै गर्दा फोहोर उठ्न नसकेपछि नगरपालिका दुर्गन्धित बन्दै गएको उनको दाबी छ।
प्रमुख प्रशासकीय अधिकृतको विषयमा पनि उनले घटनाक्रम सार्वजनिक गरेकी छन्। असार १२ गतेदेखि तत्कालीन अधिकृत सम्पर्कविहीन भएको, मन्त्रालय पुग्दा समेत सचिव र मन्त्रीले भेट नदिएको र पछि आएका नयाँ अधिकृत पनि भदौ ५ गतेदेखि कार्यालयलाई जानकारी नदिई अनुपस्थित भएपछि अवकाश लिएको उनको भनाइ छ।
पूर्वनगर प्रमुखका रूपमा स्थानीय तहमा हाकिम नहुँदा हुने समस्या प्रधानमन्त्री शाहले समेत अनुभव गरिसकेको स्मरण गराउँदै मेयर साहले तत्काल प्रमुख प्रशासकीय अधिकृत पठाएर नगरपालिका थप अस्तव्यस्त हुनबाट जोगाउन आग्रह गरेकी छन्।