बिराटनगर । विभिन्न मन्त्री र पहुँचवाला नेताहरूसँग खिचिएका तस्बिरहरू सामाजिक सञ्जालमा पोस्ट गर्ने र तस्बिरहरूलाई राजनीतिक पहुँचको प्रमाणपत्रका रूपमा प्रयोग गर्ने, र त्यसैका आधारमा सरकारी अड्डा तथा शैक्षिक संस्थामा पुगेर धाकधम्की दिने झापाका एक युवक प्रहरी फन्दामा परेका छन्।
झापाको हल्दीबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय झापाले ‘नक्कली परिचय’ खडा गरी ठगी र अनुचित दबाब दिएको आरोपमा नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार विश्वकर्माले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्यका रूपमा चिनाउँदै आएका थिए। उनले गृहमन्त्री, कानुन मन्त्री र सत्तापक्षीय सांसदहरूसँग खिचाएका तस्बिरहरूलाई आफ्नो ‘राजनीतिक धाक’ जमाउने मुख्य हतियार बनाएका थिए।
केही समययता झापाका स्थानीय सरकारी कार्यालय, शैक्षिक संस्था तथा विभिन्न औपचारिक बैठकहरूमा पुगेर सुजनले आफू प्रधानमन्त्री र गृहमन्त्रीको निकटस्थ मान्छे भएको दाबी गर्दै प्रशासनिक निर्णयहरूमा अनुचित दबाब दिने गरेका थिए।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार उनी बैठकहरूमा पुगेर राजनीतिक पहुँचको रवाफ देखाउँदै काम गराउन दबाब दिन्थे। तर, उनको बढ्दो अस्वाभाविक गतिविधि र दाबीमाथि शङ्का लागेपछि प्रहरीले रास्वपा र प्रधानमन्त्री कार्यालय दुवैतर्फ बुझ्दा उनले दाबी गरेको पद र जिम्मेवारी पूर्णतः काल्पनिक र झूटो रहेको पुष्टि भएको थियो।
मन्त्री र पहुँचवाला नेताहरूसँग फोटो खिच्दैमा कोही सत्ताको प्रतिनिधि वा पार्टीको जिम्मेवार व्यक्ति हुँदैन। तर, त्यही तस्बिरलाई ढाल बनाएर सरकारी अड्डामा धाक देखाउने गिरोह र प्रवृत्तिमाथि प्रहरीले निगरानी बढाएको छ।
प्रहरीले विश्वकर्मालाई झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखेर विस्तृत अनुसन्धान सुरु गरेको छ।
विश्वकर्माले यसअघि पनि यस्तै नक्कली परिचय दिएर कुनै सरकारी वा गैरसरकारी निकायबाट अनुचित लाभ लिएको, आर्थिक ठगी गरेको वा कसैलाई हानि–नोक्सानी पुर्याएको भए प्रमाणसहित जिल्ला प्रहरी कार्यालय झापामा सम्पर्क गर्न प्रहरीले सर्वसाधारणमा सार्वजनिक अपिलसमेत जारी गरेको छ।