काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रहरी प्रधान कार्यालयले अतिसंवेदनशील मानिएका निर्वाचन क्षेत्रमा ‘विशेष कमाण्ड’ प्रणाली लागू गरेको छ। उच्च सुरक्षा जोखिम भएका जिल्लाहरूमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तहका अधिकृतलाई प्रत्यक्ष कमाण्डको जिम्मेवारी दिइएको हो।
प्रहरीका अनुसार झापा, इलाम, सर्लाही, रौतहट, दोलखा, काभ्रे, सिन्धुपाल्चोक, रुपन्देहीसहित ३१ जिल्लामा एसएसपीहरूले सुरक्षा समन्वय र निगरानी गर्नेछन्। झापा र इलामको सुरक्षा कमाण्ड एसएसपी गोविन्द अधिकारीले सम्हालेका छन् भने सर्लाही र रौतहटमा एसएसपी सुरेश काफ्ले परिचालित छन्। दोलखामा नान्तिराज गुरुङ तथा कास्की–स्याङ्जामा जनार्दन जिसीलाई जिम्मेवारी दिइएको छ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी अबि नारायण काफ्लेका अनुसार तराईका जिल्लामा सुरक्षा चुनौती उच्च देखिएकाले त्यहाँ एसएसपी र पहाडी जिल्लामा एसपीहरूलाई थप जनशक्ति सहित खटाइएको हो।
सबैभन्दा संवेदनशील क्षेत्रका रूपमा झापालाई लिइएको छ। झापा–५ मा केपी शर्मा ओली र बालेन्द्र शाहबीच प्रतिस्पर्धा हुने भएकाले त्यहाँ विशेष सुरक्षा व्यवस्था मिलाइएको छ। उक्त क्षेत्रमा मात्रै ९ सय अतिरिक्त प्रहरी र २३ जना सिनियर अधिकृत परिचालन गरिएको छ भने सुरक्षाको प्रत्यक्ष कमाण्ड एसपी रुकेश तन्डुकारले सम्हालेका छन्।
यसैगरी, काठमाडौं उपत्यकामा पनि सुरक्षा सतर्कता बढाइएको छ। उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा एक–एक जना एसपीलाई नेतृत्व दिइएको छ। अनुगमन तथा समन्वयका लागि एसएसपी रमेश बस्नेत, सोमेन्द्र सिंह राठौर, नवराज अधिकारी, सन्तोष खड्का र प्रवीण धिताल खटाइएको जनाइएको छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखिएको प्रहरीले जनाएको छ।