मध्यपूर्व तनावपछि विश्व बजारमा तेलको मूल्य उकालो

0 Shares

काठमाडौं । अमेरिका, इजरायल र इरानबीच बढेको सैन्य तनावपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य तीव्र रूपमा बढेको छ। एशियाली बजार सोमबार बिहान खुल्दा ब्रेन्ट क्रुड र नायमेक्स लाइट स्वीट क्रुड दुबैको मूल्य १० प्रतिशतभन्दा बढीले उक्लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। पछि केही सुधार आए पनि मूल्य उच्च स्तरमै कायम रहेको बताइएको छ।

बिहान करिब ५ बजेसम्म ब्रेन्ट क्रुडको मूल्य झण्डै ९ प्रतिशतले बढेर प्रति ब्यारेल ७९.३० अमेरिकी डलर आसपास पुगेको थियो। त्यस्तै नायमेक्स लाइट स्वीट क्रुड करिब ८.५ प्रतिशतले वृद्धि हुँदै ७२.७० डलर प्रति ब्यारेल नजिक कारोबार भएको थियो।

ब्रेन्ट क्रुड र नायमेक्स लाइट स्वीट क्रुड विश्व बजारमा व्यापक रूपमा कारोबार हुने दुई प्रमुख कच्चा तेलका मापदण्ड हुन्। अन्तर्राष्ट्रिय तेल मूल्य निर्धारणका लागि यी सूचकहरूलाई आधार मानिन्छ।

यसैबीच इरान र इजरायलबीच संघर्ष जारी रहेको छ। दुवै पक्षले एक–अर्कामाथि आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय समाचार स्रोतहरूले उल्लेख गरेका छन्। शनिबार बिहान अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि आक्रमण गरेको बताइएको छ।

आक्रमणका क्रममा आयोतुल्लाह अली खामेनीको मृत्यु भएको दाबी गरिएको छ। साथै इरानी सेनाका चिफ अफ स्टाफ अब्दुल रहीम मौसवी र रक्षामन्त्री मेजर जनरल अजीज नासिरजादेहलगायत उच्च सैनिक अधिकारीहरू पनि मारिएको खबर आएको छ।

मध्यपूर्वमा बढ्दो अस्थिरताले ऊर्जा आपूर्ति प्रभावित हुने आशंका बढेपछि विश्व बजारमा तेलको मूल्यमा उतारचढाव देखिएको विश्लेषकहरू बताउँछन्। आगामी दिनमा सुरक्षा अवस्था र आपूर्ति श्रृंखलाको अवस्थाले मूल्य प्रवृत्तिमा थप प्रभाव पार्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारसबै