विश्व तेल बजारमा संकट : इरानी आक्रमणपछि रस तनुरा रिफाइनरीमा आगलागी

0 Shares

काठमाडौं । अमेरिका, इजरायल र इरानबीचको द्वन्द्व सोमबार थप तीव्र बनेको छ। राति केही समय शान्ति देखिए पनि बिहानै इरानले इजरायल र खाडी क्षेत्रका अन्य मुलुकहरूमा नयाँ मिसाइल र ड्रोन आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इरानी आक्रमणका क्रममा साउदी अरेबियाको सरकारी तेल कम्पनी साउदी अरमाको रस तनुरा रिफाइनिङ केन्द्रमा ड्रोन हमला भएको दाबी गरिएको छ। रस तनुरा विश्वकै ठूलो तेल निर्यात केन्द्रमध्ये एक मानिन्छ, जसले अन्तर्राष्ट्रिय कच्चा तेल आपूर्तिमा महत्वपूर्ण भूमिका खेल्दछ। प्रारम्भिक विवरणअनुसार सानो आगलागी नियन्त्रणमा आइसकेको छ र सम्भावित ड्रोन आक्रमणपछि लागेको बताइएको छ।

त्यसैगरी, इरानी सरकारी सञ्चारमाध्यम प्रेस टिभीका अनुसार बहराइनस्थित सलमान बन्दरगाहमा इरानले मिसाइल प्रहार गरेको छ। इरानी दाबी अनुसार उक्त बन्दरगाह अमेरिकाले इरानविरुद्ध सम्भावित आक्रमणका लागि प्रयोग हुने सैनिक सामग्री ढुवानीमा प्रयोग गर्दै आएको थियो। इरानी इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले ‘अपरेसन ट्रु प्रमिस’ नाम दिइएको कारबाहीबारे विवरण सार्वजनिक गर्दै ‘दशौं लहरमा खैबार मिसाइलमार्फत कब्जा गरिएका क्षेत्रतर्फ भीषण आक्रमण गरिएको’ बताएका छन्।

इरानी पक्षले कुवेतमा अमेरिकी एफ–१५ लडाकु विमान खसालिएको तस्बिर समेत सार्वजनिक गरेको छ। उता, इजरायलस्थित टेलिभिजन नेटवर्कका कूटनीतिक संवाददाता अमिचाइ स्टाइनका अनुसार खाडी देशका अधिकारीहरू इरानी जवाफी कारबाहीको तीव्रताबाट स्तब्ध भएका छन्। एक अधिकारीले भनेका छन्, “खामेनीको अन्त्यपछि जवाफ आउने अनुमान थियो, तर जनघनत्व भएका क्षेत्रलाई लक्षित गर्नु अकल्पनीय र अत्यन्त खतरनाक कदम हो।”

फेब्रुअरी २८ मा सुरु भएको पूर्णस्तरीय द्वन्द्वपछि पछिल्लो आक्रमण र प्रतिआक्रमण भएको हो। अमेरिका र इजरायलले संयुक्त रूपमा ‘अपरेसन एपिक फ्युरी÷रोरिङ लायन’ अन्तर्गत इरानका सैन्य अड्डा, आणविक पूर्वाधार, मिसाइल प्रणाली तथा उच्च नेतृत्व आवासहरूमा व्यापक हवाई तथा मिसाइल हमला गरेका थिए।

क्षेत्रीय द्वन्द्व अझ फैलिन सक्ने जोखिम बढेपछि विश्व नेताहरू र अन्तर्राष्ट्रिय निकायहरूले संयमता अपनाउन र तनाव घटाउन आह्वान गरिरहेका छन्। तर हालसम्म आक्रमण जारी रहेकाले निकट भविष्यमा शान्ति कायम हुने स्पष्ट संकेत देखिएको छैन।

सम्बन्धित समाचारसबै