काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व चाँडै समाप्त हुने दाबी गरेका छन्, तर तेहरानले भने आवश्यक परेसम्म लडाइँ जारी राख्ने सङ्केत दिएको छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले पिबिएस न्युजसँग अन्तर्वार्तामा ‘गोलीबारी जारी छ र हामी तयार छौँ। आवश्यक परेसम्म हामी हाम्रो मिसाइल प्रयोग गर्दै आक्रमण जारी राख्नेछौँ’ भनी बताएका छन्। उनले वासिङ्टनसँग वार्ताको सम्भावना पनि अस्वीकार गर्दै, अघिल्ला वार्तामा भएको अमेरिकी आक्रमणले तेहरानलाई थप अविश्वासी बनाएको बताए।
इरानको रिभोलुसनरी गार्ड्सले पनि ट्रम्पको टिप्पणीको जवाफमा युद्धको अन्त्य कसरी हुने भन्ने निर्णय आफूहरूले गर्ने चेतावनी दिएको छ।
सोमबार फ्लोरिडामा पत्रकार सम्मेलन गर्दै ट्रम्पले अभियान छोटो अवधिको हुने दाबी गर्दै भने, ‘यो चाँडै समाप्त हुनेछ र यदि फेरि सुरु भयो भने उनीहरू अझ बढी प्रभावित हुनेछन्।’ उनले तेहरानले तेल आपूर्ति अवरुद्ध गरेमा ‘अकल्पनीय आकारको आक्रमण’ गर्ने चेतावनी पनि दिएका छन्।
ट्रम्पको टिप्पणीले अन्तर्राष्ट्रिय बजारमा केही राहत दिएको देखिएको छ। अघिल्लो दिन बढेको तेलको मूल्य घटेर करिब पाँच प्रतिशतले झरेको छ भने टोकियो र सियोलका सेयर बजार पनि मजबुत रूपमा खुलेका छन्। अघिल्लो दिन कच्चा तेलको मूल्य प्रति ब्यारेल १०० डलर नाघेको थियो।