कालोबजारीको गुनासोपछि इनरुवाका ग्यास पसलमा प्रशासनको अनुगमन

0 Shares

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवामा रहेका ग्यास पसलहरूको अनुगमन गरेको छ। पछिल्लो समय ग्यासमा कालोबजारी बढेको भन्ने गुनासो आएपछि अनुगमन गरिएको अनुगमन समितिका संयोजक कृष्ण सुवेदीले जानकारी दिए।

उनका अनुसार इनरुवामा रहेका पाँच वटा ग्यास पसलमा अनुगमन गरिएको हो। ती पसलहरूमा बिक्रीका लागि राखिएका सुविधा, प्रिमा, कमख्या र कोशी ग्यासको अवस्थाबारे निरीक्षण गरिएको थियो। अनुगमनका क्रममा इनरुवामा आवश्यकताअनुसार ग्यास उपलब्ध रहेको र हालसम्म कालोबजारी भएको प्रमाण नदेखिएको  बताएका छन्। ।

उद्योग वाणिज्य संघ इनरुवाका उपाध्यक्ष गिरीराज अटलका अनुसार उपभोक्ताले आवश्यक परेको समयमा ग्यास सहज रूपमा पाइरहेको भेटिएको छ। बजारमा कृत्रिम अभाव सिर्जना भएको अवस्था हालसम्म नदेखिएको पनि उनले बताए।

अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ तथा उपभोक्ता प्रतिनिधिहरूको सहभागिता रहेको थियो। टोलीले ग्यासको भण्डारण, बिक्री प्रणाली र मूल्य अवस्थाबारे समेत जानकारी लिएको थियो।

जिल्ला प्रशासन कार्यालय सुनसरीले ग्यास उत्पादक, वितरक तथा डिलरहरूलाई अनावश्यक मौज्दात नराख्न, पालो प्रणालीमार्फत पारदर्शी रूपमा वितरण गर्न, कृत्रिम अभाव सिर्जना नगर्न तथा बजार मूल्यभन्दा बढी मूल्य नलिन निर्देशन दिएको छ। साथै खरिद–बिक्रीको विवरण व्यवस्थित रूपमा राख्न पनि आग्रह गरिएको छ।

प्रशासनले जारी गरेको निर्देशन उल्लङ्घन गरे कानुनअनुसार कडा कारबाही गरिने सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेले जानकारी दिएका छन्। उनले बजारमा उपभोक्तालाई ठगी हुन नदिन नियमित अनुगमनलाई निरन्तरता दिइने पनि बताएका छन्।

सम्बन्धित समाचारसबै