काठमाडौँ । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको अन्तिम नतिजासँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदको सबैभन्दा ठूलो दलको रूपमा उदाएको छ। प्रत्यक्षतर्फ उल्लेखनीय सफलता हासिल गर्दै रास्वपाले १२५ सिट जितेको छ भने समानुपातिकतर्फ पनि उसको प्रभावशाली उपस्थिति देखिएको छ। समानुपातिक प्रणालीबाट थप ५७ सांसद निर्वाचित भएसँगै रास्वपाले कुल १८२ सिट सुरक्षित गरेको छ।
यो परिणामले नेपाली राजनीतिक इतिहासमा नयाँ अध्याय सुरु गरेको विश्लेषकहरूको भनाइ छ। पहिलोपटक निर्वाचनमै यति ठूलो जनसमर्थन प्राप्त गर्दै रास्वपा प्रमुख शक्तिको रूपमा स्थापित भएको छ।
अन्य प्रमुख दलहरूको अवस्था भने अपेक्षाकृत कमजोर देखिएको छ। नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० सिट जित्दै कुल ३८ सिटमा सीमित भएको छ। यस्तै, नेकपा एमालेले प्रत्यक्षमा ९ र समानुपातिकमा १६ सिट जित्दै जम्मा २५ सिट हासिल गरेको छ।
त्यसैगरी, नेपाली कम्युनिष्ट पार्टीले प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ सिट जित्दै कुल १७ सांसद संसदमा पठाएको छ। साना दलहरूको उपस्थितिमा पनि केही प्रभाव देखिएको छ। श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ ४ सिट जित्दै आफ्नो उपस्थिति जनाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रत्यक्षमा १ र समानुपातिकमा ४ सिट जितेको छ।
यसपटकको निर्वाचन परिणामले पुराना स्थापित दलहरूलाई चुनौती दिँदै नयाँ राजनीतिक शक्तिको उदय भएको स्पष्ट संकेत गरेको छ। अबको सरकार गठन र राजनीतिक समीकरण कसरी बन्छ भन्ने विषयमा सबैको चासो केन्द्रित भएको छ।