ऊर्जा भण्डार लक्षित हमला, अमेरिकाभित्रै युद्धविरोधी आवाज

0 Shares

काठमाडौं । इरान, इजरायल र संयुक्त राज्य अमेरिका बीच जारी द्वन्द्व आज २०औँ दिनमा पुगेको छ। पछिल्लो घटनाक्रममा इरानले कतारस्थित सबैभन्दा ठूलो ग्यास प्रशोधन केन्द्र रास लाफानमा क्षेप्यास्त्र प्रहार गरेको छ।

आक्रमणपछि उक्त क्षेत्रमा आगलागी हुनुका साथै ठूलो क्षति पुगेको जनाइएको छ। अवस्था नियन्त्रणका लागि तत्काल आपतकालीन उद्धार टोली खटाइएको थियो। कतारले यस आक्रमणका लागि इरानलाई जिम्मेवार ठहर गर्दै सर्वसाधारण र अत्यावश्यक संरचनालाई निशाना बनाउनु लक्ष्मणरेखा पार गर्नु भएको जनाएको छ।

कतारको विदेश मन्त्रालयले यस्ता आक्रमणले सम्पूर्ण क्षेत्रको अवस्था झनै बिग्रन सक्ने चेतावनी दिँदै सबै पक्षलाई संयमता अपनाउन र शान्ति कायम गर्न आग्रह गरेको छ।

उता, इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनीले सुरक्षा प्रमुख अली लारिजानीको हत्याको बदला लिने चेतावनी दिएका छन्। उनले “प्रत्येक रगतको मूल्य चुकाइनेछ” भन्दै कडा प्रतिक्रिया व्यक्त गरेका छन्।

यसैबीच, संयुक्त राज्य अमेरिका र इजरायलले बुधबार दक्षिणी इरानको दक्षिण पार्स ग्यास क्षेत्र र असालुयेह सहरका तेल तथा ग्यास केन्द्रहरूमा हवाई आक्रमण गरेका छन्। दक्षिण पार्सलाई विश्वकै सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्र मानिन्छ। आक्रमणमा ग्यास, रसायन उत्पादन तथा तेलका संरचनाहरूलाई लक्षित गरिएको जनाइएको छ।

यसअघि इजरायलका रक्षामन्त्रीले इरान र लेबनानमा ठूलो आश्चर्यजनक घटना देखिने बताएका थिए, जसलाई यी आक्रमणसँग जोडेर हेरिएको छ। यसको जवाफमा इरानले खाडी क्षेत्रका देशहरूमा रहेका प्रमुख तेल तथा ग्यास केन्द्रहरूमा थप आक्रमण गर्न सक्ने चेतावनी दिएको छ। इरानको क्रान्तिकारी सुरक्षा बलले साउदी अरब, संयुक्त अरब इमिरेट्स र कतारका ऊर्जा केन्द्रहरूबाट टाढा रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

यसै सन्दर्भमा अमेरिकी रक्षा विभाग पेन्टागनले इरानसँगको युद्धका  ह्वाइट हाउसलागि समक्ष २०० अर्ब अमेरिकी डलरभन्दा बढी बजेट माग गरेको खुलासा भएको छ।वासिङ्टन पोस्टका अनुसार हालसम्म यस द्वन्द्वमा ११ अर्ब अमेरिकी डलरभन्दा बढी खर्च भइसकेको छ।

तर, अमेरिकी संसद्भित्र यस प्रस्तावलाई लिएर विवाद बढ्ने देखिएको छ। सांसद क्रिस भ्यान होलेनले द्वन्द्वका लागि सरकारी कोष उपलब्ध गराउने प्रस्तावको विरोध गर्दै आफूले यसको पक्षमा मतदान नगर्ने बताएका छन्। उनले यस्तो द्वन्द्वले देशलाई सुरक्षित नबनाउने र जनताले पनि समर्थन नगरेको धारणा राखेका छन्।

उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको दक्षिण पार्स ग्यास क्षेत्रमा भएको आक्रमणबारे प्रतिक्रिया दिँदै इजरायलले थप आक्रमण नगर्ने बताएका छन्। उनले उक्त आक्रमणबाट सीमित क्षेत्रमा मात्र क्षति पुगेको दाबी गर्दै अमेरिकालाई यसबारे पूर्व जानकारी नभएको बताएका छन्।

ट्रम्पले कतारको ग्यास केन्द्रमा भएको आक्रमणप्रति चिन्ता व्यक्त गर्दै अनावश्यक हिंसा र विनाशले दीर्घकालीन असर पार्ने चेतावनी दिएका छन्। साथै, भविष्यमा कतारमाथि पुनः आक्रमण भएमा कडा कदम चाल्न सकिने संकेत दिएका छन्।

मध्यपूर्वमा बढ्दो सैन्य गतिविधि र आक्रमण–प्रत्याक्रमणका घटनाले क्षेत्रीय स्थायित्वमा गम्भीर चुनौती थपिएको छ। विश्व समुदायले सबै पक्षलाई संयमता अपनाउन र कूटनीतिक समाधानतर्फ अघि बढ्न आग्रह गरिरहेको छ।

सम्बन्धित समाचारसबै