काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आफ्नो मातृभाषामा समेत शपथ लिन पाउने भएका छन् । यसका लागि कुन भाषामा शपथ लिने भन्नेबारे शपथ मितिभन्दा कम्तीमा तीन दिनअघि संसद् सचिवालयलाई जानकारी दिनुपर्ने प्रावधान रहेको संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन् ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण कार्यक्रम यही चैत १२ गते तय गरिएको छ । त्यसअघि जेष्ठ सदस्यले चैत ११ गते राष्ट्रपतिसमक्ष शपथ लिनेछन् । जेष्ठ सदस्यले नै त्यसपछि अन्य सदस्यहरूलाई शपथ गराउने व्यवस्था छ ।
शपथ सम्बन्धी ऐन, २०७९ को दफा ५ मा शपथको भाषासम्बन्धी स्पष्ट व्यवस्था गरिएको छ । सो अनुसार शपथ लिँदा वा गराउँदा सरकारी कामकाजको भाषा नेपाली प्रयोग गर्नुपर्ने उल्लेख भए पनि नेपालमा बोलिने आफ्नो मातृभाषामा शपथ लिन सकिने सुविधा पनि दिइएको छ ।
मातृभाषामा शपथ लिन चाहने सदस्यले अनुसूचीमा उल्लेखित शपथको पाठ आफ्नो भाषामा अनुवाद गरी आफैंले प्रमाणित गरेर शपथ गराउने पदाधिकारीसमक्ष शपथ लिनुअघि नै पेश गर्नुपर्ने प्रावधान छ । साथै, शपथ लिएको कागजातको दुई प्रति हस्ताक्षर गरेर बुझाउनुपर्ने व्यवस्था पनि रहेको छ । मातृभाषामा शपथ लिएको खण्डमा सो भाषाको शपथको समेत दुई प्रति पेश गर्नुपर्नेछ ।
यस्तै, शपथ ग्रहणका क्रममा सांसदहरूले आफ्नो पहिचान झल्किने पोशाक लगाउन पाउने व्यवस्था पनि गरिएको छ । शपथसम्बन्धी ऐनको दफा ४ अनुसार औपचारिक पोशाकमा उपस्थित हुनुपर्ने भए पनि आफ्नो संस्कृति, परम्परा वा पहिचान झल्किने मर्यादित भेषभूषा लगाएर शपथ लिन सकिने प्रावधान राखिएको छ ।