आमालाई ६ महिना, बाबुलाई ४२ दिन सुत्केरी स्याहार बिदा दिने प्रस्ताव

0 Shares

काठमाडौं । नेपालमा सुत्केरी महिलाले पाउने बिदा ९८ दिनबाट बढाएर ६ महिना पुर्‍याउने गरी कानून संशोधनको तयारी गरिएको छ। प्रस्तावित व्यवस्थाले आमासँगै नवजात शिशुको हेरचाहमा बाबुको भूमिकालाई समेत कानूनी रूपमा थप समय दिन खोजेको छ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमका अनुसार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधनका लागि मस्यौदा तयार भइसकेको छ।

प्रस्तावित व्यवस्थाअनुसार आमाले ६ महिनाको तलबी बिदा पाउनेछिन् भने बाबुले सुत्केरी स्याहारका लागि ४२ दिनसम्म बिदा पाउनेछन्।

हालको व्यवस्थामा आमाले सुत्केरीअघि र पछिको अवधिसहित ९८ दिनसम्म बिदा पाउने र बाबुले १५ दिनसम्म सुत्केरी स्याहार बिदा पाउने व्यवस्था छ।

सरकारले प्रस्ताव अघि बढाए पनि यसको प्रभाव निजी तथा सार्वजनिक क्षेत्रमा कसरी लागू हुन्छ, तलबी बिदाको आर्थिक दायित्व कसरी व्यवस्थापन गरिन्छ र सबै कामकाजी महिलाले समान रूपमा सुविधा पाउँछन् कि पाउँदैनन् भन्ने विषय कार्यान्वयनका क्रममा महत्वपूर्ण हुने देखिन्छ।

मस्यौदा अब मन्त्रिपरिषद्मा पेस गर्ने र त्यसपछि संसदमा दर्ता गर्ने तयारी रहेको मन्त्री गौतमले जानकारी दिएकी छन्।

सम्बन्धित समाचारसबै