काठमाडौं । नेकपाकी नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध बहुविवाहको मुद्दा दर्ता गर्ने तयारी गरेको बताएकी छन्।
सामाजिक सञ्जालमा उनले कानुनी बाटो रोज्ने संकेतसहित स्टाटस लेखेपछि त्यसलाई कतिपयले सम्बन्धविच्छेदको तयारीका रूपमा बुझेका थिए। तर रञ्जिताले भने आफूले डिभोर्सका लागि नभई बहुविवाहको विषयमा कानुनी प्रक्रिया अघि बढाउन लागेको स्पष्ट पारेकी छन्।
उनले आफू लामो समयदेखि मौन बसेको तर आफूलाई थप पीडा दिने काम भएको भन्दै चौधरीविरुद्ध मुद्दा दर्ताको तयारीमा रहेको बताएकी हुन्।
रञ्जिता र रेशमबीच पछिल्लो समय राजनीतिक तथा पारिवारिक सम्बन्धमा दूरी देखिएको छ। उनीहरू लामो समयदेखि अलग बस्दै आएका छन्।
रञ्जिताका अनुसार रेशमले आफू उनकी श्रीमती हुँदाहुँदै आशा चौधरीसँग अर्को सम्बन्ध कायम गरेको विषयलाई लिएर कानुनी प्रक्रिया अघि बढाउन लागिएको हो। रेशम र आशाबीच विवाह दर्ता भएको वा नभएको विषयमा समेत विभिन्न दाबी सार्वजनिक भएका छन्।
रञ्जिताले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘कानुनले जे ठहर गर्छ, त्यसको जिम्मेवारी लिनुपर्ने समय आएमा त्यसबाट पछि हट्ने ठाउँ पनि हुँदैन।’