काठमाडौं । नेपाली कांग्रेस भित्र समानान्तर समिति गठन गर्ने प्रक्रिया अगाडि बढाइएको छ। पार्टीका वरिष्ठ नेता शेरबहादुर देउवा समूहले आज बिहान छुट्टै भेला आयोजना गर्दै यस्तो निर्णय गरेको हो।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक जारी रहँदा देउवा समूहले पुरानो केन्द्रीय कार्यसम्पादन समितिमा रहेका नेताहरूलाई छलफलका लागि बोलाएको थियो।
बैठकमा सहभागी नेता मीन विश्वकर्मा ले कांग्रेस नेतृत्वसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले अन्तिम फैसला नआएसम्म समानान्तर गतिविधि जारी रहने बताए।
उनका अनुसार अघिल्लो केन्द्रीय समितिले कारबाही गरेका नेता गगन थापा र विश्वप्रकाश शर्मा लाई भने उक्त बैठकमा सहभागी गराइने छैन। “कारबाहीमा परेका व्यक्तिलाई बैठकमा बोलाउन मिल्दैन,” उनले स्पष्ट पारे।
यस्तै, केन्द्रीय समिति बैठक बोलाउने मिति तय गर्ने जिम्मेवारी पूर्णबहादुर खड्का लाई दिइएको छ। खड्काले पार्टीभित्रका नेताहरूसँग परामर्श गरेर बैठकको समय निर्धारण गर्ने जनाइएको छ।