विराटनगर, स्थानीय तहको दोस्रो निर्वाचन मार्फत निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल पनि दुई वर्ष बितिसकेको छ। अघिल्लो कार्यकालका जनप्रतिनिधिहरू भन्दा यसपटकका जनप्रतिनिधिहरूले काम गर्ने अवसर पर्याप्त रुपमा पाएका छन्।
विगतको समयमा कोरोनाको हाहाकार, बाढीको समस्याले विराटनगरमा सोचेजती कार्य हुन सकेन। तर यसपटक निर्वाचित जनप्रतिनिधिको लागि काम गर्ने राम्रो अवसर रहेको छ। विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला निर्वाचित भएपश्चात जनमानसमा एउटा आशा पलाएको थियो। यही विराटनगरको माटोमा जन्मिएको र यही माटोमा हुर्केको ।अझ श्रमिक वर्गहरुसँग खुल्न सक्ने स्वभाव रहेको भन्दै विराटनगर बासीले चौतर्फी प्रशंसा गरे, तर यी सबै कुराहरु ठिक विपरीत हुन पुगेको छ।
बहुप्रतिक्षित नेपाल र भारत जोडिएको सिमा नाकामा बनाइने स्वागत द्वार पनि टालाटुली बटुली सरह भएको छ। विराटनगरका पूर्व मेयर भीम पराजुली को कार्यकालमा विराटनगरका तीन स्थानमा आकासे पुल बनाउने भनेर कोरोनाको समयमा भारतबाट विभिन्न सामग्रीहरू समेत आयात गरिएको थियो। कोरोनाकै समयलाई सदुपयोग गर्दै आकासे पुल निर्माण गर्ने कुराले व्यापक प्रचार पायो। विभिन्न पत्रपत्रिकाहरुमा प्रमुख समाचार पनि बन्यो। तर उनको कार्यकालमा पनि विराटनगरले आकासे पुल पाउन सकेन।
कला बिल्डर्स कम्पनीले ठेक्का समेत प्राप्त गरेर आवश्यक सामग्री ल्याइसकेको थियो। सम्भावना बोकेका भनिएका मेयर नागेश कोइरालाको कार्यकाल पनि दुई वर्ष बितिसकेको छ।तर, हालसम्म पनि विराटनगरमा आकासे पुलको कार्य सुरु भएको छैन। सडक विस्तार हुनु जनघनत्व बढ्नु दिनानुदिन सडक दुर्घटना हुनुले विराटनगरमा , आकासे पुलको आवश्यकता टड्कारो बनेको छ। । तर विराटनगरका मेयर नागेश कोइरालाले यस विषयमा कुनै चासो देखाएका छैनन् ।
विराटनगरको बर्गाछीमा दिनानुदिन दुर्घटना भइरहेको हुन्छ। केही समयअघि मात्र सालिक भत्केको थियो। र त्यहाँ पुनः निर्माण गरिएको थियो त्यो सालिक पनि पुन भत्किएको छ।
भारतसँग जोडिएको सीमामा रहेको शहर।
विराटनगर स्थित नेपाल-भारत सिमा नाका जोगमनी नाकाबाट भारतीय सामानहरू आयात र निर्यात हुने गर्दछन्। विशेषगरी मालवाहक ट्रकहरू यहीँबाट नेपालको विभिन्न भागमा जाने गर्दछ। ओभरलोड रहेको ट्रकले ठक्कर दिएर विराटनगरमा धेरै दुर्घटना भएको छ। भारतमा रहेको सडकहरू फराकिलो हुनु र त्यहाँका चालकले त्यही अनुरूप तीव्र गतिमा सवारी हाँक्ने गर्नुले विराटनगरबासी दुर्घटनाको शिकार भइरहेका छन्। विराटनगरमा साँघुरो सडक हुनु र नयाँ स्थान हुनु का कारणले सडक दुर्घटना दिनानुदिन बढ्दै गएको छ। यसलाई रोकथाम गर्नका निमित्त पनि विराटनगरमा आकासे पुल अत्यन्त आवश्यक रहेको छ।
बिहारमा मदिरा प्रतिबन्ध हुनु।
भारतको बिहार राज्यमा नितिश कुमार मुख्यमन्त्री भए लगत्तै उनले बिहारमा मदिरा निषेधित गरेका थिए। सोही अनुरूप भारतीय मूलका मानिसहरू विराटनगरमा आएर मदिरा सेवन गर्ने गरेका छन्। त्यसले पनि सडक दुर्घटना दिनानुदिन बढ्दै गएको छ। अझ भन्ने हो भने विराटनगरमा बिहार नम्बर प्लेट भएको गाडी पर्याप्त मात्रामा भेट्ने गरिन्छ। सीमासँग जोडिएको भएको हुनाले यहाँ आएर मदिरा सेवन गरी लठ्ठ भएर साँझमा घर फर्किने गरेका छन्। त्यसको नकारात्मक असर विराटनगरमा बढीरहेको छ।