विराटनगर विमानस्थलबाट स्रोत नखुलेको ठुलो परिमाणको नगदसहित एक सरकारी कार्यालयका प्रमुख पक्राउ परेका छन् । गत साउन ३ गते राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति, कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालय प्रमुख एवं उपसचिव मिक्मार तामाङलाई ६ लाख ६५ हजार रुपैयाँ नगदसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
दोलखाको भीमेश्वर नगरपालिका–९ स्थायी घर भएका तामाङ बुद्ध एयरको उडानमार्फत विराटनगरबाट काठमाडौँ जाने तयारीमा थिए । विमानस्थलको प्रस्थान कक्षमा खटिएको प्रहरी टोलीले नियमित सुरक्षा जाँचका क्रममा तामाङले बोकेको कालो रङको झोला खानतलासी गरेको थियो । सो क्रममा झोलाभित्र लुकाइराखेको अवस्थामा रु १ हजार दरका ५१५ थान र रु ५०० दरका ३०० थान गरी जम्मा ६ लाख ६५ हजार रुपैयाँ फेला परेको थियो ।
बरामद रकमको वैधानिक स्रोतबारे विमानस्थल प्रहरीले तत्कालै सोधपुछ गरेको थियो । तर, उपसचिव तामाङले उक्त रकम कहाँबाट र कसरी आयो भन्नेबारे सन्तोषजनक जवाफ दिन नसकेपछि विमानस्थल प्रहरी सुरक्षा गार्डले उनलाई नियन्त्रणमा लिएको हो ।
विमानस्थलमा खटिएका प्रहरी नायव निरीक्षक (सई) राजेन्द्र तिम्सिनाको टोलीले तामाङलाई बरामद रकमसहित थप अनुसन्धान र कानुनी कारबाहीका लागि सोही दिन जिल्ला प्रहरी कार्यालय मोरङको आर्थिक अपराध शाखामा बुझाएको थियो ।
उपसचिव तहकै उच्च पदस्थ कर्मचारी ठुलो रकमसहित पक्राउ परेको यति गम्भीर घटनालाई भने मोरङ प्रहरीले हालसम्म गुपचुप राखेको पाइएको छ । घटना भएको केही दिन बितिसक्दा पनि प्रहरीले सार्वजनिक नगर्नुलाई शङ्कास्पद रूपमा हेरिएको छ ।
यस विषयमा बुझ्दा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कवित कटुवालले घटनाको अनुसन्धान भइरहेको स्वीकार गरे । ‘हामीले नियन्त्रणमा लिएको व्यक्तिले सम्पत्तिको स्रोत देखाउन सक्नुभएको छैन,’ एसपी कटुवालले भने, ‘सम्भवतः आज जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गर्ने तयारी छ ।’ उनले अनुसन्धान जारी रहेकाले थप विवरण पछि सार्वजनिक गर्ने बताए ।